Skip

Hamro Sanchar

इराननजिकै अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथ रहेको ‘बीबीसी भेरिफाइ’को रिपोर्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ५ गते


काठमाडौं । बीबीसी भेरिफाइले भू–उपग्रह (स्याटेलाइट) तस्बिरहरूको प्रयोग गरी इराननजिकै अमेरिकी युद्धपोत जहाज ‘यूएसएस अब्राहम लिंकन’को अवस्थितिलाई पुष्टि गरेको छ ।

वासिंगटनले इरानको सैन्य कार्यक्रम तथा हालै प्रदर्शनकारीहरूमाथि गरिएको दमनलाई लिएर दबाब बढाइरहेका बेला यो तैनाथी सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

अमेरिकी र इरानी अधिकारीहरू मंगलबार दोस्रो चरणको वार्ताका लागि स्विजरल्यान्डमा भेट्दै छन् । इरानले यो बैठक आफ्नो परमाणु कार्यक्रम र अमेरिकी आर्थिक प्रतिबन्ध हटाउने विषयमा केन्द्रित हुने बताएको छ । वासिंगटनले अन्य मुद्दाहरूमा पनि छलफल गर्न चाहेको संकेत दिएको छ ।

अमेरिकाले अरब क्षेत्रमा तैनाथ गरेको यूएसएस अब्राहम लिंकन युद्धपोतमा तीनवटा मिसाइल डिस्ट्रोयरसहितको यो स्ट्राइक ग्रुपमा ९० वटा विमान र पाँच हजार ६८० चालक दलका सदस्यहरू छन् । यो जहाज इरानबाट करिब ७०० किलोमिटर टाढा ओमानको तटनजिक फेला परेको छ ।

अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत ‘जेराल्ड आर फोर्ड’लाई पनि मध्यपूर्व पठाएको रिपोर्ट आएको छ, जुन आगामी तीन हप्ताभित्र यस क्षेत्रमा आइपुग्न सक्ने बताइएको छ ।

बीबीसी भेरिफाइले स्याटेलाइटमार्फत यस क्षेत्रमा १२ वटा अमेरिकी जहाजहरू ट्रयाक गरेको छ । यसमा ‘निमिट्ज’ क्लासको क्यारियर, तीनवटा ‘आर्ले बुर्के’ क्लास डिस्ट्रोयर, लामो दूरीको मिसाइल प्रहार गर्नसक्ने दुईवटा डिस्ट्रोयर तथा बहराइनको नौ सैनिक स्टेसनमा रहेका तटीय युद्धका लागि विशेष तीनवटा जहाज सामेल छन् ।

समुद्री मार्गसँगै अमेरिकाले हवाई शक्तिमा पनि वृद्धि गरेको छ । जोर्डनको मुवाफाक सल्ती सैन्य बेसमा एफ–१५ र ईए–१८ लडाकु विमानहरूको संख्या बढाइएको छ ।

अमेरिका र युरोपबाट मध्यपूर्वतर्फ आउने कार्गो विमान, इन्धन भर्ने विमान तथा सञ्चार विमानहरूको आवागमनमा पनि वृद्धि भएको देखिएको छ ।

फेब्रुअरी ६ मा अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो सैन्य क्षमता प्रदर्शन गर्दै अब्राहम लिंकन र अन्य जहाजहरूको तस्बिर सार्वजनिक गरेपछि इरानले पनि आफ्नै तरिकाले शक्ति प्रदर्शन गरेको छ ।

सोमबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले ओमान र इरानबीच रहेको रणनीतिक ‘स्ट्रेट अफ हर्मोज’मा नौसैनिक अभ्यास सुरु गरेको छ ।

तस्निम न्युज एजेन्सीका अनुसार आईआरजीसीका कमान्डर–इन–चीफ मेजर जनरल मोहम्मद पाकपुरले नौसैनिक जहाजहरूको निरीक्षण गर्नुका साथै जहाजबाट मिसाइल प्रहार गरिएको दृश्य पनि सार्वजनिक गरिएको छ ।

‘स्ट्रेट अफ हर्मोज’ विश्वकै सबैभन्दा महत्वपूर्ण तेल पारवहन मार्ग हो । विश्वको कुल तेल तथा ग्यास आपूर्तिको करिब पाँचौँ हिस्सा यही मार्ग भएर जान्छ । इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खार्ग टापु पनि यही क्षेत्रमा पर्छ ।


प्रतिकृया दिनुहोस्