Skip

Hamro Sanchar

अब विदेशी मूलका अमेरिकीको नागरिकता खोसिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ४ गते


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नियन्त्रणको दायरालाई अझ कठोर बनाउँदै विदेशी मूलका अमेरिकी नागरिकको नागरिकता खारेज गर्ने अभियानलाई तीव्रता दिने योजना अघि सारेको छ।

एनबीसी न्युजमा प्रकाशित समाचारअनुसार, अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले यसका लागि देशभरका आफ्ना कार्यालयहरूमा विशेष टास्क फोर्स परिचालन गर्न सुरू गरेको छ।

प्रशासनले प्रत्येक महिना १०० देखि २०० जनाको नागरिकता खारेजीका लागि मुद्दा पहिचान गर्ने लक्ष्य राखेको छ। यो संख्या ट्रम्पको पहिलो कार्यकालको तुलनामा निकै बढी हो। त्यतिबेला चार वर्षमा जम्मा १०२ वटा मात्रै यस्ता मुद्दा दायर भएका थिए।

नागरिकता लिने क्रममा आपराधिक इतिहास लुकाएको वा झुटा विवरण पेस गरेको भेटिएमा कारबाहीको मुख्य आधार बनाइनेछ। यूएससीआईएसका प्रवक्ता म्याथ्यु ट्रागेसरले यस प्रक्रियाबारे स्पष्ट पार्दै भनेका छन्, “नागरिकता धोखाधडी वा गलत विवरणमार्फत प्राप्त भएको प्रमाण भेटिएमा सम्बन्धित व्यक्तिको नागरिकता पुनरावलोकन गरिनेछ। धोखाधडीप्रति प्रशासनको शून्य सहनशीलताको नीति छ।”

यो अभियान डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको व्यापक आप्रवासन नियन्त्रण नीतिको हिस्सा हो।

यसअन्तर्गत हजारौँको भिसा रद्द गर्ने र केही ग्रीनकार्ड पाएकालाई समेत देशनिकाला गर्ने तयारी छ।

यद्यपि, पूर्व अधिकारीहरूका अनुसार नागरिकता खारेज गर्ने प्रक्रिया जटिल र लामो हुन्छ। कुनै पनि राष्ट्रपतिले एक्लै नागरिकता हटाउन सक्दैनन्, यसका लागि कानुनी लडाइँ र ठोस प्रमाण आवश्यक पर्छ।

नयाँ नीतिले विशेषगरी राष्ट्रिय सुरक्षामा जोखिम, युद्ध अपराध वा सरकारी स्वास्थ्य सेवामा ठगी गरेको आरोप लागेका व्यक्तिहरूलाई प्राथमिक सूचीमा राखेको छ ।


प्रतिकृया दिनुहोस्