
काठमाडौं । सन् २०२४ मा भएको विद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि बंगलादेश पहिलोपटक आज निर्वाचन हुँदै छ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार देशभर मतदान सुरु भइसकेको छ र यो स्थानीय समयअनुसार अपराह्न ४:३० बजेसम्म जारी रहनेछ।
जारी मतदानमा नयाँ सरकार चयन गर्न बंगलादेशका १२ करोडभन्दा बढी मतदाता सहभागी भइरहेका छन्।
सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध विद्यार्थीको आन्दोलन चर्किएपछि सन् २०२४ अगस्ट ५ का दिन तत्कालीन प्रधानमन्त्री हेलिकप्टर चढेर भारत भागेकी थिइन्। अहिले पनि उनी भारतकै अज्ञात स्थलमा छिन्।
हसिनाले देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले चुनाव गराएको हो।
१४ सय जनाको ज्यान जानेगरी भएको आन्दोलन र शेख हसिना सरकारको पतनपछि बंगलादेशमा पहिलोपटक भइरहेको चुनावमा विश्वकै नजर छ।
३ सय ५० सदस्यीय संसद्मा प्रत्यक्षतर्फ ३०० जना सांसद चुन्न मतदान भइरहेको हो। जसमा १२ करोड ७७ लाख मतदाताले भाग लिइरहेका छन्।
साथै जारी चुनावमा पहिलोपटक देशबाहिर भएकाहरूले पनि हुलाकमार्फत मतदान गर्ने पाउने व्यवस्था गरिएको छ।
लामो समय सत्ता चलाएकी हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएको यस चुनावमा मुख्यगरी दुई शक्ति प्रतिस्पर्धामा छन्। अग्रस्थानमा देखिएको बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लाई जमात-ए-इस्लामीले टक्कर दिँदै छ।
आज चुनावका साथै जनमतसंग्रह पनि हुँदै छ। गत वर्षको जुलाईमा अन्तरिम सरकारले आन्दोलनकारी विद्यार्थीसँग गरेको सम्झौतामा जनमतसंग्रह भइरहेको हो। जसमा संविधान संशोधन, नयाँ कानुन निर्माणलगायत विषय छन्।
जितको प्रमुख दाबेदार मानिएको गठबन्धन बीएनपीमा १० वटा पार्टी सामेल छन्। यसका मुख्य नेता तारिक रहमान हुन्। जो पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन्। ६० वर्षीय रहमान १७ वर्ष लन्डनमा निर्वासित जीवन बिताएर हालै मात्र देश फर्केका हुन्।
बीएनपी उनकै पिता अर्थात् खालिदा जियाका पति जियाउर रहमानले स्थापना गरेका थिए। जो बंगलादेश स्वतन्त्रताका बेला मुख्य सैन्य कमान्डरमध्ये एक थिए।
दक्षिणपन्थतर्फ ढल्केको यो पार्टीको मुख्य सिद्धान्त राष्ट्रवाद हो। पहिले यो पार्टीले अवामी लिगसँग मुख्य प्रतिस्पर्धा गर्थ्यो र पालैले या त सत्ता या प्रतिपक्षको नेतृत्व सम्हाल्थ्यो।
१९८१ मा जियाउर रहमानको हत्यापछि उनकी पत्नी खालिदा जिया पार्टी प्रमुख भइन् र दुई कार्यकाल प्रधानमन्त्री पनि चलाइन्। त्यतिबेला अवामी लिगविरुद्धको स्पर्धामा बीएनपीलाई साथ दिने मुख्य शक्ति जमात-ए-इस्लामी थियो।
हसिना २००९ मा सत्तामा फर्केपछि भने बीएनपी दबाबमा पर्यो। २०१८ मा भ्रष्टाचार आरोपमा दोषी ठहर गरी खालिदालाई नजरबन्दमा राखियो। हसिनाको सत्ता ढलेपछि मात्रै उनी मुक्त भइन्।
उनका छोरा रहमान भने २००८ मै भागेर बेलायत पुगेका थिए।
हसिनाको पतनलगत्तै बीएनपी पुनः प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ र यसका नेता रहमान लामो निर्वासनपछि सत्तामा पुग्ने योजना लिएर देश फर्केका हुन्।

















