
काठमाडौं । इरानले नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई थप साढे सात वर्षको कैद सजाय सुनाएको छ ।
भोकहडतालमा रहेकी नर्गिसको सजाय बढाइएको उनका वकिलले बताएका छन् ।
नर्गिस मोहम्मदी फाउन्डेसनका अनुसार, खराब स्वास्थ्यका कारण उनलाई सोमबार उपचारका लागि अस्पताल लगिएको थियो । तर, पछि फेरि हिरासतमै फर्काइएको थियो । फाउन्डेसनले यो सम्पूर्ण कानुनी प्रक्रियालाई देखावटी मुद्दा भएको बताएको छ ।
सन् २०२३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित नर्गिसका वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा उनलाई षड्यन्त्र र मिलेमतोका लागि ६ वर्ष र दुष्प्रचार गतिविधिका लागि डेढ वर्षको अतिरिक्त सजाय सुनाइएको बताए ।
अब उनले कुल साढे सात वर्षको जेल सजाय काट्नुपर्नेछ । यसबाहेक, उनलाई दुई वर्षको यात्रा प्रतिबन्ध पनि लगाइएको छ । यद्यपि, इरानी कानुनअनुसार यी सजाय एकसाथ चल्नेछन् ।
नर्गिस दशकौँदेखि मानवअधिकारका लागि आवाज उठाउँदै आइरहेकी छन् । डिसेम्बर २०२५ मा सुरक्षा बलले मानव अधिकार वकिल खोसरो अलीकोर्दीको शोकसभामा सहभागी हुँदा उनलाई गिरफ्तार गरेका थिए, जसको मृत्यु शंकास्पद परिस्थितिमा भएको थियो ।
इरानी गणराज्यको शासनलाई चुनौती दिएका कारण उनले विगत २० वर्षको अधिकांश समय तेहरानको जेलमा बिताइरहेकी छन् ।
अहिलेसम्म इरान सरकारले यो नयाँ घटनाक्रममा कुनै टिप्पणी गरेको छैन ।

















