
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार ठूलो विस्फोट भएको छ ।
विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएको प्रहरीले जनाएको छ ।
राजधानीको बाहिरी क्षेत्र शहजाद टाउनमा भएको यो विस्फोटमा शिया समुदायको मस्जिद र इमामबाडालाई निशाना बनाइएको थियो । विस्फोट हुँदै गर्दा जुमेको नमाज् पढिँदै थियो ।
इस्लामाबाद प्रहरीका प्रवक्ता ताकी जावेदले समाचार एजेन्सी डीपीएलाई भने, “प्रारम्भिक रूपमा म कम्तिमा १२ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छु ।”
राहत तथा उद्धारसँग सम्बन्धित एक अधिकारी मोहम्मद आमिरका अनुसार, कम्तिमा १५ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीले मृतकको संख्या बढ्ने आशंका गरेको छ ।
राजधानी इस्लामाबादको प्रहरीले यो आत्मघाती हमला भएको आशंका गरेको छ । राहत तथा उद्धार अभियानकै बीच घटनास्थलमा फरेन्सिक टोलीका अधिकारीहरू पनि पुगेका छन् ।
विस्फोटपछि राजधानीको पोलीक्लिनिक, पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज र सीडीए अस्पतालमा आपत्कालीन अवस्था लागु गरिएको छ । इस्लामाबादमा तीन महिनाभित्र यो दोस्रो विस्फोट हो ।

















