
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ ।
बुधबार (माघ २१) राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै सम्पर्क कार्यालय खोलिएको थियो । रास्वपाका वरिष्ठ नेता एवं पार्टीबाट झापा–५ का उमेदवार बालेन्द्र शाह (बालेन)को प्रचारप्रसार, भेटघाटका निम्ति कार्यालय खोलिएको हो ।
तोडफोडबाट सम्पर्क कार्यालयको झ्यालका सिसा फुटेको रास्वपाका जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए । “कमल गाउँपालिकामा रहेको सम्पर्क कार्यालय तोडफोड भएको छ । तोडफोडबाट झ्यालका सिसा फुटेको छ । अन्य क्षति छैन,” उनले भने ।
सम्पर्क कार्यालयमा तोडफोड कसले गरेको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तोडफोडबारे जानकारी प्राप्त भएको र थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
















