Skip

Hamro Sanchar

अमेरिकाले अरब सागरमा उडिरहेको इरानी ड्रोन खसाल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


वासिङ्टन डीसी । अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई अमेरिकी सेनाले गोली हानेर खसालेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, मंगलबार जहाजबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि उक्त ड्रोनलाई ध्वस्त पारेको हो ।

घटना हुँदा जहाज इरानको तटबाट करिब ५०० माइल टाढा थियो । ड्रोनको उद्देश्य स्पष्ट नभएको सेनाले बताएको छ । यस घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको र जहाजमा क्षति पनि नपुगेको बताइएको छ ।

यो घटना अमेरिका र इरानबिच तनाव बढिरहेका बेला भएको हो । अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाइरहेको छ ।

इरान आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा आएन भने सैन्य कारबाही हुन सक्ने चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइसकेका छन् । उनले यसअघि इरानमा सरकारविरोधी प्रदर्शन दमनका रोक्न हस्तक्षेपको गर्ने धम्की पनि दिएका थिए ।

ड्रोन खसालिएपछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै अमेरिका र इरानबिच यसै साता तय भएका वार्ता यथावत् रहेको बताइन् । ट्रम्पले पहिला कूटनीतिलाई प्राथमिकता दिए पनि सैन्य विकल्प सधैँ खुला रहने उनले स्पष्ट पारिन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यसअघि अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध भड्किने चेतावनी दिएका थिए । तर मंगलबारको ड्रोन घटनाबारे इरानले औपचारिक प्रतिक्रिया दिएको छैन ।


प्रतिकृया दिनुहोस्