Skip

Hamro Sanchar

ट्रम्पको दाबी : भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १८ गते


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गरेका छन् । साथै, उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गरेका छन् ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनलाई भेनेजुएलाको तेलमा ठूलो सम्झौता गर्न स्वागत रहेको बताए ।

उनले भारत चाँडै भेनेजुएलाको तेल खरिद प्रक्रियामा प्रवेश गर्ने र इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट आयात गर्ने योजना बनेको उल्लेख गरे । उनका अनुसार यस विषयमा सम्झौताको अवधारणा पहिल्यै तयार भइसकेको छ ।

“हामीले पहिले नै एउटा सम्झौता गरिसकेका छौँ । भारत आउँदै छ र उनीहरूले इरानबाट किन्नुको सट्टा भेनेजुएलाको तेल किन्न जाँदै छन् । त्यसैले हामीले सम्झौताको ढाँचा बनाइसकेका छौँ,” ट्रम्पले भने ।उनले चीनलाई पनि भित्र आएर तेल किन्न स्वागत रहेको दोहोर्‍याए ।

तर, भारत सरकारले अहिलेसम्म राष्ट्रपति ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकालाई पाँच अर्ब २० करोड अमेरिकी डलरबराबरको पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको र त्यसमा सहमति भइसकेको दाबी गरे ।

“हामी नयाँ राष्ट्रपतिसँग र देश सञ्चालन गर्ने अन्य व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ । उनीहरूले भने कि हामीसँग पाँच करोड ब्यारेल तेल छ र यसलाई तुरुन्तै प्रशोधन गर्नुपर्छ । किनकि, भण्डारणको ठाउँ छैन । के तपाईं लिनुहुन्छ रु मैले भनेँ, हामी लिन्छौँ,” ट्रम्पको भनाइ छ ।

ट्रम्पका अनुसार उक्त तेलको मूल्य पाँच अर्ब २० करोड अमेरिकी डलरबराबर पर्छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत पक्राउ गरेपछि बनेको अन्तरिम सरकारसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको पनि उल्लेख गरेका छन् । “हामी अन्तरिम राष्ट्रपति रहेका व्यक्ति र अन्य सबैसँग राम्रो सम्बन्धमा छौँ । धेरै दबाब कम भएको छ,” उनको भनाइ छ ।

मादुरोको नियन्त्रण अन्त्य भएपछि ट्रम्पले वासिंटनले भेनेजुएलालाई संक्रमणकालमा सहयोग गर्ने र तेलसहित अन्य स्रोतमा पूर्ण पहुँच चाहेको स्पष्ट पारेका थिए ।

राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले न्युयोर्कस्थित समाचार संस्था सेमाफोरको हालैको रिपोर्टलाई पनि पुष्टि गरेको छ । उक्त रिपोर्टअनुसार अमेरिकाले भेनेजुएलाको तेलको पहिलो बिक्री गरेको छ, जसको मूल्य करिब ५० करोड अमेरिकी डलर छ ।

सेमाफोरका अनुसार तेल बिक्रीबाट प्राप्त हुने रकम हाल अमेरिकी सरकारको नियन्त्रणमा रहेको बैंक खातामा राखिएको छ ।


प्रतिकृया दिनुहोस्