Skip

Hamro Sanchar

म्यानमारका ११ ‘स्क्याम’ माफियालाई चीनले दियो मृत्युदण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १५ गते


काठमाडौं । चीनले म्यानमारमा ठगी केन्द्र (स्क्याम सेन्टर) सञ्चालन गरेको आरोपमा एक परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ ।

झेजियाङ प्रान्तको एउटा अदालतले गएको सेप्टेम्बरमा मिङ परिवारका सदस्यलाई हत्या, अवैध थुना, ठगी र जुवाखाल सञ्चालन गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चीनसँगको सीमानजिक म्यानमारको लाउकाइ सहरमा शासन गर्ने कैयौँ प्रभावशाली समूहमध्ये मिङ परिवार एक थियो । उनीहरूकै शासनकालमा यो विकट क्षेत्र क्यासिनो र रेडलाइटको एउटा चमकदार केन्द्रमा परिणत भएको थियो ।

सन् २०२३ मा म्यानमारका अधिकारीले उनीहरूलाई पक्राउ गरी चीनलाई हस्तान्तरण गरेपछि उक्त परिवारको ठगी साम्राज्य ध्वस्त भएको थियो । बेइजिङको कडा दबाबपछि म्यानमार सरकारले यो कारबाही चलाएको थियो ।

विगत केही वर्षदेखि म्यानमारका यस्ता ठगी केन्द्रमा हजारौँ चिनियाँ कामदार फस्दै आएका थिए । ती केन्द्रमा मानिस तस्करी गरी लगिने र विदेशमा रहेका व्यक्तिहरूलाई ठग्न बाध्य पार्ने गरिन्थ्यो ।

गत वर्ष थाइल्यान्डमा अभिनयका निम्ति गएका एक चिनियाँ कलाकारलाई म्यानमारको स्क्याम सेन्टरमा पुर्‍याइएको घटना ‘भाइरल’ भएपछि बेइजिङमा आक्रोश चुलिएको थियो ।

अदालतका अनुसार, मिङ माफियाले सन् २०१५ देखि २०२३ का बीचमा १० अर्ब युआनभन्दा बढी अवैध आम्दानी गरेका थिए । उनीहरूको अपराधका कारण १४ चिनियाँ नागरिकको ज्यान गएको थियो । कैयौँ घाइते भएका थिए । बीबीसीबाट ।


प्रतिकृया दिनुहोस्