
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्ड नजिकै प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति २ बजेको समयमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो ।
गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका एसपी रमेश थापाले बताए ।
प्रहरीले दुई राउन्ड गोली चलाएको हो । उपत्यकामा लुटपाट आतङ्क मच्चाउँदै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन् ।
आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा लुटपाट आतङ्क मच्चाउँदै आएका थिए । पक्राउ परेका लुटेराहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

















