Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बंगलादेशका ३ जना वरिष्ठ प्रहरीलाई मृत्युदण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १३ गते


Advertisement

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी) ले सोमबार जुलाई २०२४ को आन्दोलनका क्रममा मानवताविरुद्ध अपराध गरेको अभियोगमा ढाकाका तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

ढाका महानगरकी तत्कालीन प्रहरी कमिस्नर हबिबुर रहमान, सह–कमिस्नर सुदिप कुमार चक्राव्रत र उप–कमिस्नर शाह आलम मोहम्मदलाई सजाय सुनाइएको हो। यसै मुद्दामा अन्य पाँच प्रहरी अधिकारीलाई जेल चलान गरिएको छ।

फैसला सुनाइँदा तीनै जना अभियुक्त अदालतमा उपस्थित थिएनन्। उनीहरूको अवस्था अज्ञात रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

गत जुलाई–अगस्ट २०२४ मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो। कोटा प्रणालीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन दबाउन प्रहरी र सुरक्षा बलले अत्यधिक बल प्रयोग गरेको थियो।

अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन्। त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

नयाँ अन्तरिम सरकारले विगतका मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी) लाई सक्रिय बनाएको छ। यो विशेष अदालतले जुलाई आन्दोलनका क्रममा भएका दमनका मुद्दाहरू हेर्दै आएको छ।

बंगलादेशमा आगामी १२ फेब्रुअरीमा हुने चुनावको केही समयअघि आएको छ। शेख हसिना नेतृत्वको सरकार अपदस्थ भएपछि हुने यो पहिलो चुनाव हो।


प्रतिकृया दिनुहोस्