
काठमाडौं । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४०० भन्दा बढी हवाई उडान रद्द भएका छन्।
हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या सिर्जना गरेको छ ।
राष्ट्रिय मौसम सेवाका अनुसार दक्षिणी पहाडी क्षेत्रदेखि उत्तरपूर्वी भूभागसम्म फैलिएको आँधीले करिब १८ करोड मानिसलाई असर पार्ने सम्भावना छ ।
वासिंटनदेखि न्यूयोर्क र बोस्टनसम्म ३० देखि ६० सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरिएको छ ।
उडान अनुगमन संस्थाका अनुसार आइतबार मात्रै हजारौँ उडान रद्द भएका छन्, जुन महामारीपछिको सबैभन्दा ठूलो अवरोध मानिएको छ ।
न्यूयोर्कस्थित ला गार्डिया विमानस्थल आइतबार दिउँसो बन्द गरिएको थियो । फिलाडेल्फियामा ९४ प्रतिशत, ला गार्डियामा ९१ प्रतिशत र जे एफ के अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ८० प्रतिशत उडान रद्द भएका छन् ।
डलास–फोर्ट वर्थ, चार्लोट, फिलाडेल्फिया र अटलान्टा लगायतका प्रमुख विमानस्थल पनि प्रभावित भएका छन् ।
उड्डयन विज्ञहरूका अनुसार उडान तालिका सामान्य अवस्थामा फर्किन धेरै दिन लाग्न सक्छ । प्रत्यक्ष रूपमा प्रभावित नभएका यात्रुहरू पनि शृंलाबद्ध ढिलाइका कारण समस्यामा पर्न सक्ने बताएका छन् ।

















