Skip

Hamro Sanchar

जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेका ‘हत्यारा’लाई जन्मकैदको फैसला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ७ गते


काठमाडौं । सन् २०२२ मा जापानको नारा सहरमा एक चुनावी र्‍यालीका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गर्ने व्यक्तिलाई तीन वर्ष ६ महिनापछि जन्मकैदको सजाय सुनाइएको छ ।

गत वर्ष सुरु भएको सुनुवाइका क्रममा तेत्सुया यामागामी आफैँले आफ्नो अपराध स्वीकार गरे पनि उनलाई कस्तो सजाय दिने भन्ने विषयमा जापानी जनमत विभाजित थियो । कतिपयले ४५ वर्षीय यामागामीलाई क्रूर हत्याराको रूपमा हेरेका छन् भने कतिपयले उनको कष्टकर बाल्यकालप्रति सहानुभूति दर्शाएका थिए ।

सरकारी वकिलहरूले यामागामीको कार्यलाई गम्भीर अपराध भन्दै उनलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेका थिए । हतियारसम्बन्धी अपराध नगन्य रहेको जापानमा आबेको हत्याले स्तब्ध बनाएको थियो ।

सजायमा नरमपनको माग गर्दै यामागामीका प्रतिरक्षा वकिलहरूले उनी धार्मिक दुर्व्यवहारको शिकार भएको तर्क गरेका थिए । उनकी आमा ‘युनिफिकेसन चर्च’प्रति अत्याधिक समर्पित भएकाले उनको परिवारलाई गरिब बनाएको थियो । पूर्वप्रधानमन्त्री आबेको सो विवादास्पद चर्चसँग सम्बन्ध रहेको थाहा पाएपछि यामागामीले उनीप्रति रिस पोखेका थिए ।

बुधबार फैसला सुन्नका लागि नारा जिल्ला अदालतबाहिर करिब ७०० मानिस भेला भएका थिए । दिउँसै सार्वजनिक भाषण दिइरहेका बेला भएको आबेको हत्यापछि सो चर्चको शंकास्पद गतिविधि र अनुयायीहरूबाट लिइने आर्थिक चन्दाबारे छानबिन सुरु भएको थियो ।

यस घटनाले जापानको सत्तारुढ ‘लिबरल डेमोक्रेटिक पार्टी’का राजनीतिज्ञहरू र चर्चबीचको सम्बन्धलाई पनि उजागर गरिदिएको थियो, जसका कारण धेरै मन्त्रीहरूले राजीनामा दिनुपरेको थियो ।

पत्रकार एइतो सुजुकीका अनुसार, सुनुवाइका क्रममा यामागामी र उनको परिवार निराशाले भरिएको देखिन्थ्यो । सुजुकी भन्छन्, “यामागामीमा संसारप्रति एक प्रकारको वितृष्णा र त्यागको भावना देखिन्थ्यो ।”

अक्टोबर २०२५ मा सुरु भएको सुनुवाइको पहिलो दिनमै यामागामीले गम्भीर हुँदै भनेका थिए, “सबै कुरा सत्य हो । मैले नै यो गरेको हुँ भन्नेमा कुनै शंका छैन ।” उनले दुईवटा फलामका पाइप र टेप प्रयोग गरेर बनाएको घरेलु बन्दुकले ८ जुलाई २०२२ मा आबेलाई दुई गोली हानेका थिए ।

जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको हत्याले विश्वभर नै हलचल मच्चाएको थियो । बीबीसी


प्रतिकृया दिनुहोस्