
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिद्वारा नगरपालिकामा सूचीकृत महिला समूहहरूका लागि कानुनी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
नगर उप-प्रमुख तथा न्यायिक समिति संयोजक शान्ता थापाको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उच्च अदालत राजबिराजका न्यायाधीश सरला मोक्तानले प्रशिक्षण दिनुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कार्कीले महिलाहरू कानुनी रूपमा सचेत भए मात्र समाजमा न्याय र समानता स्थापित हुने बताउनुभयो। उहाँले स्थानीय तहले महिलाको पहुँचमा सहज र प्रभावकारी न्यायिक सेवा पुर्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी नगर उप–प्रमुख तथा न्यायिक समिति संयोजक शान्ता थापाले न्यायिक समितिको भूमिका, उजुरी दर्ता प्रक्रिया तथा महिलाले भोग्नुपर्ने घरेलु हिंसा, सामाजिक विभेदलगायतका विषयमा जानकारी दिनुभयो। उहाँले कानुनी ज्ञानको अभावका कारण धेरै महिलाहरू अन्याय सहन बाध्य हुने अवस्था रहेको भन्दै यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।
कार्यक्रममा, न्यायिक समितिका पदाधिकारीहरु, वडाअध्यक्ष र वडा सचिवहरूको समेत सहभागिता रहेको थियो।
सहभागी महिला समूहका प्रतिनिधिहरूले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताएका छन्।
नगरपालिकाले महिला सशक्तीकरण, न्यायमा पहुँच र कानुनी सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

















