
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘तेल सम्झौता’ बाट पाउने पैसाले भेनेजुएलाले अमेरिकाबाट मात्र सामान किन्नुपर्ने बताउनुभएको छ ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकामा बनेका सामान मात्र किन्नुपर्ने बताउनुभएको हो ।
भेनेजुएलालले अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण, विद्युत् ग्रिड र ऊर्जा केन्द्र सुधारसम्बन्धी उपकरणहरू किन्नुपर्ने ट्रम्पले उल्लेख गर्नुभएको छ । यस्तै ट्रम्पले भेनेजुएलाले अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध रहेको र यो दुवै देशका नागरिकका लागि धेरै राम्रो कुरा भएको जिकिर गर्नुभएको छ ।
गएको शनिवार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट पक्राउ गरेर न्यूयोर्क लगेको थियो । अहिले डेल्सी रोड्रिगेज भेनेजुएलाको कार्यवाहक राष्ट्रपति नियुक्त हुनुभएको छ ।

















