
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र सैन्य अड्डासहित धेरै स्थानमा आक्रमणको आदेश दिएका अधिकारीहरूले सीबीएस न्युजलाई बताएका छन् ।
योसँगै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय आपत्काल घोषणा गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै यसलाई अमेरिकाका तर्फबाट आफ्नो देशको तेल र खनिजमा कब्जा गर्ने प्रयास भनेका छन् ।
भेनेजुएलाको राजधानी काराकासका धेरै क्षेत्रमा यसअघि लगभग एकैसाथ धेरै विस्फोट सुनिएको थियो । विस्फोट भएका क्षेत्रमा सैन्य अड्डा पनि छन् ।
भेनेजुएलाले अमेरिकी सैन्य आक्रमकताको निन्दा गर्दै यसलाई अस्वीकार गरेको छ । भेनेजुएला सरकारको वक्तव्यमा भनिएको छ, “भेनेजुएला अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको वर्तमान सरकारको तर्फबाट भेनेजुएलाविरुद्ध गरिएको अत्यन्त गम्भीर सैन्य आक्रमकतालाई अस्वीकार गर्छ, विरोध गर्छ र निन्दा गर्छ ।”
ट्रम्पले मादुरोलाई अमेरिकामा लागुऔषध तस्करी र अपराध फैलाउन संलग्न भएको आरोप लगाएका छन् ।
भेनेजुएलाका राष्ट्रपतिले सम्पूर्ण देशमा बाह्य उथलपुथलको स्थिति घोषणा गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन् । र, त्यसलाई लागु गर्ने आदेश दिएका छन् । उनले सबै राष्ट्रिय रक्षा योजनालाई उपयुक्त समय र परिस्थितिमा लागु गर्ने निर्देशन पनि दिएका छन् । बीबीसीबाट
















