
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको १३औँ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ। थलीस्थित नगरपालिकाको सभा हलमा सम्पन्न अधिवेशनले चालु आर्थिक वर्षको बजेट संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
अधिवेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले प्रगति विवरणसहित बजेट संशोधनसम्बन्धी प्रस्ताव पेस गर्दै आर्थिक चुनौतीका कारण बजेटको आकार घटाउनुपर्ने अवस्था आएको बताए। यसअघि नगरसभाबाट ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको बजेट अनुमान गरिएको भए पनि हालको परिस्थितिलाई मूल्याङ्कन गर्दा करिब साँढे २ अर्ब रुपैयाँको बजेट उपयुक्त ठहर गरिएको उनको भनाइ छ।
नगरप्रमुख कार्कीका अनुसार पछिल्लो समय देखिएका आर्थिक कठिनाइ, संघीय तथा प्रदेश सरकारबाट अपेक्षित अनुदान समयमै प्राप्त नहुनु, साथै भदौ २३–२४ मा भएको घटनाले केही विकास निर्माणका योजनामा प्रत्यक्ष असर परेको छ। यद्यपि, केही क्षेत्रमा राजस्व वृद्धि गर्न सकिने सम्भावनायुक्त योजनाहरूलाई पनि अघि बढाइने उनले जानकारी दिए।
नगरप्रमुख कार्कीले नगरपालिकाले विगतका झन्डै २५ करोड रुपैयाँ बराबरका दायित्व भुक्तानी गरिसकेको जानकारी दिए। आन्तरिक स्रोत सुदृढ गर्दै लगिएको उल्लेख गर्दै उनले घरभाडा कर संकलन, व्यवसाय दर्ता, प्लटिङ तथा नक्सा पासलाई नगरपालिकाका मुख्य आन्तरिक आम्दानीका स्रोतका रूपमा अघि बढाइएको बताए। आन्तरिक राजस्व वृद्धि गर्न यी क्षेत्रहरूलाई थप व्यवस्थित बनाइने पनि उनले स्पष्ट पारे।
आर्थिक चुनौतीलाई मध्यनजर गर्दै नगरपालिकाले सबै क्षेत्रको बजेटमा २५ प्रतिशत कटौती गर्ने प्रस्ताव अघि सारेको छ। सोअनुसार वडास्तरमा विनियोजित बजेट, विभिन्न शाखामा छुट्याइएको रकम तथा नगरस्तरीय योजनाहरूमा समेत समान रूपमा २५ प्रतिशत कटौती गरिने योजना रहेको छ।
अधिवेशनमा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडाध्यक्षहरू तथा नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो।


















