
टोकियो । जापान टोकियोको उत्तरपश्चिमस्थित गुनमा प्रान्तमा शुक्रबार राति भीषण सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।
गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी सवारीसाधन एकापसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, हिमपातका कारण सडक चिप्लो हुँदा सवारीसाधन नियन्त्रणबाहिर गएर दुर्घटना भएको अनुमान गरिएको छ ।
दुर्घटनामा कम्तीमा १७ सवारीसाधनमा आगो लागेको थियो । आगलागी नियन्त्रणमा लिन करिब साढे सात घण्टा लागेको जनाइएको छ ।
दुर्घटनामा अन्दाजी ७० वर्षीया एक महिलाको मृत्यु पुष्टि भएको छ । पाँचजनाको अवस्था गम्भीर छ ।
दुर्घटनापछि द्रुतमार्गको उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको थियो । धेरै सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । केही सवारीसाधन आगलागीबाट जलेर नष्ट भएका छन् ।
घटनाका बेला भारी हिमपातको चेतावनी जारी गरिएको थियो । प्रहरीले सडकमा जमेको हिउँ दुर्घटनाको मुख्य कारण हुन सक्ने जनाएको छ ।


















