
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध समाप्त गर्ने उपायबारे अमेरिकी दूतसँगको छलफललाई सकारात्मक भनेका छन् । जेलेन्स्कीले बिहीबार अमेरिकी दूत स्टिभ विट्कोफ र जेरेड कुश्नरसँग करिब एक घण्टा फोनवार्ता गरेका थिए ।
त्यसक्रममा ‘रुस र युक्रेनलाई वास्तविक शान्तिनजिक ल्याउने समय, स्वरूप र बैठकहरू’सम्बन्धी नयाँ धारणा प्रस्तुत गरिएको उनले बताएका छन् । फ्लोरिडामा अमेरिकी र युक्रेनी दूतले सहमतिमा अद्यावधिक २० बुँदे शान्ति योजनाको विवरण दिएको एक दिनपछि उनले फोनवार्ता गरेका हुन् ।
क्रेमलिनले रुसी दूतले अमेरिकाबाट पठाइएको प्रस्तावको विश्लेषण गरिरहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका दूत सन् २०२२ फेब्रुअरीमा रुसको आक्रमणबाट सुरु युद्ध समाप्त गर्ने सम्झौताका निम्ति दुवै मुलुकसँग कुराकानी गरिरहेका छन् ।
एक्ँ
पछिल्ला केही दिनमा प्रगति देखिएको छ । युक्रेनी राष्ट्रपतिले विट्कोफ र ट्रम्पका ज्वाइँ कुश्नरले प्रस्तुत गरेका प्रस्तावको प्रशंसा गरेका छन् ।
अमेरिका र युक्रेनले सहमति जनाएको २० बुँदे शान्ति योजना केही हप्ताअघि विट्कोफले तयार पारेको प्रारम्भिक मस्यौदाको अद्यावधिक संस्करण मानिएको छ ।
युक्रेनको औद्योगिक पूर्वी डोनेत्स्क क्षेत्रको प्रमुख प्रश्नमा जेलेन्स्कीले ‘स्वतन्त्र आर्थिक क्षेत्र’ सम्भावित विकल्प हुन सक्ने बताएका छन् । युक्रेनी सेनाले छाडेको कुनै पनि क्षेत्रलाई युक्रेनले नै सुरक्षित गर्नुपर्नेमा उनले जोड दिए ।
मस्कोले हाल डोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र छिमेकी लुहान्स्कको ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ । यी दुवै क्षेत्रलाई सामूहिक रूपमा डोम्बास भनिन्छ ।
जेलेन्स्की वासिङटन नेतृत्वको शान्ति वार्तामा डोम्बासको सम्पूर्ण भूभाग रुसलाई सुम्पिन ट्रम्पबाट दबाबमा रहेको जनाइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले डोम्बास छाड्नुपर्ने वा आफूहरूले उक्त क्षेत्र कब्जा गर्ने पटक–पटक चेतावनी दिँदै आएका छन् ।
यसैबीच, बिहीबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी दूत किरिल दिमित्रिएभले अमेरिकाबाट ल्याएका प्रस्ताव अध्ययन गरिरहेको बताएका छन् । “हामी यो सामग्री अध्ययन गर्दै छौँ र कार्यकारी प्रमुखले लिएको निर्णयानुसार अमेरिकीसँग हाम्रो संवाद जारी राख्नेछौँ,” उनले भने । बीबीसीबाट


















