Skip

Hamro Sanchar

पक्राउ परेका दुर्गा प्रसाईंलाई तत्काल छोड्न सरकारसँग ओलिको माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ३ गते


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईंलाई तत्काल छोड्न सरकारसँग माग गरेका छन् ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई बोलेबापत पक्राउ गरिएको जिकीर गर्दै तत्काल छोड्नुपर्ने बताएका हुन् ।

मावनअधिकार आयोगले समेत प्रसाईंको मानवअधिकार हनन् गर्न नपाउने कुरा सरकारलाई भनिसकेकाले पनि सरकारले उसलाई पक्राउ गरेर राख्न नपाउने ओलीको भनाइ छ । प्रसाईंलाई बोल्न नदिन सरकारले उत्तेजित भएर नियन्त्रणमा लिने काम गरेको उनको भनाइ छ ।

बोलेबापत वा एउटा भिडियो सार्वजनिक गरेबापत सरकारले उत्तेजित भएर प्रसाईंलाई पक्राउ गर्न नमिल्ने ओलीको तर्क छ।

सरकारले बोल्दा पनि अपराधीलाई जस्तो व्यवहार गर्ने गरेको आरोपसमेत लगाए । सरकारले मुसाले बिरालो खेदे जसरी एमालेलाई पेल्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

यस्तो छ ओलीको भनाइ :

म सरकारलाई भन्न चाहन्छु– दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस् । बोल्नै नपाइने पनि हुन्छ । मानव अधिकार आयोगले भनिसकेको छ( बोलेबापत नै थुन्न मानवअधिकारको उल्लंघन हो । सरकारलाई मानवअधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर मानवअधिकार आयोगले भनिसक्यो । सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ । त्यसो भएर बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्नुहुँदैन।

कसलाई को मन पर्छ, कसलाई को मन पर्छ ? तर, केमा थुन्ने, केमा नथुन्ने भन्ने हुन्छ नि त । अपराधमा पो थुन्ने हो त । अनि भएको भिडियो बाहिर ल्याउँदा थुन्ने हो ?


प्रतिकृया दिनुहोस्