Skip

Hamro Sanchar

ट्रम्पको सम्बोधनका क्रममा इजरायली संसद्‌मा ‘हंगामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २७ गते


काठमाडौं । इजरायल र गाजाबीच भएको शान्ति सम्झौताको सफलतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने घोषणा गरिएको छ ।

ट्रम्प यो सम्मान प्राप्त गर्ने पहिलो गैर–इजरायली नागरिक हुन् । यससँगै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति ट्रम्पको शान्ति प्रयासको प्रशंसा गर्दै उनको भूमिका ऐतिहासिक रहेको बताएका छन् ।

त्यसपछि ट्रम्पले इजरायली संसद् नेसेटलाई सम्बोधन गरेका छन् । ट्रम्पले सम्बोधनका क्रममा भने, “अँध्यारो र कैदमा भयावह दुई वर्ष बिताएपछि २० बहादुर बन्धकहरू अब आफ्ना परिवारकहाँ फर्किरहेका छन् । हामीले आठ महिनामा आठवटा युद्धहरू टुंग्याएका छौँ, जसमा यो पनि समावेश छ ।”

ट्रम्पले थप भने, “यदि हामी युद्धमा उत्रियौँ भने हामीले त्यसलाई पहिले कसैले पनि नजितेको तरिकाले जित्नेछौँ । गाजा शान्ति सम्झौता पश्चिम एसियाका लागि एक ऐतिहासिक बिहानी हो ।”

ट्रम्पले नेतन्याहूको प्रशंसा गर्दै भने, “नेतन्याहूसँग व्यवहार गर्न सजिलो छैन, तर यही कुरा उहाँलाई महान बनाउँछ । उहाँले अत्यन्त राम्रो काम गर्नुभएको छ ।”

ट्रम्पले गाजामा शान्ति योजनाका लागि अरब र इस्लामिक राष्ट्रहरूको प्रशंसा गरे । उनले भने, “उनीहरूले एकजुट भएर हमासमाथि दबाब दिए र बन्धकहरूलाई मुक्त गराउन मद्दत गरे । हामीले धेरै सहयोग पायौँ । त्यस्ता धेरै मानिसहरू छन्, जसको बारेमा तपाईंले सोच्नुभएको पनि थिएन, र म उनीहरूप्रति आभार व्यक्त गर्दछु । यो केवल एउटा युद्धको अन्त्य मात्र होइन, यो इजरायल र यसको सबै छिमेकी देशहरूका लागि महान सद्भाव र स्थायी मित्रताको सुरुआत हो ।”

ट्रम्पको सम्बोधनका क्रममा संसद्‌मा हंगामा
ट्रम्पको सम्बोधनका क्रममा नेसेटका एक सदस्य अयमान ओदेहले अवरोध सिर्जना गर्दै प्यालेस्टाइनलाई मान्यता दिनुपर्ने माग राखे ।

ओदेहले आफ्नो ‘एक्स’ पोस्टमा लेखे, “संसद्‌मा भइरहेको यो देखावटीपन असह्य छ । नेतन्याहूको यस्तो महिमामण्डन पहिले कहिल्यै देखिएको थिएन ।”

उनले थपे, “यसले नेतन्याहू र उनको सरकारलाई गाजामा भएका मानवताविरुद्धका अपराधहरू र सयौँ हजारौँ प्यालेस्टिनी तथा हजारौँ इजरायलीहरूको ज्यानको जिम्मेवारीबाट उन्मुक्त गर्न सक्दैन ।


प्रतिकृया दिनुहोस्