
काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् ।
आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताए ।
“सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,” उनले भने, “रामेश्वर खनालजीबाट सुरु गरौँ । बालकोटमा बस्नुहुन्छ । पूर्वअर्थ सचिव हुनुहुन्छ । उनले आफ्नो पनि सम्पत्ति छानबिनको माग गरेका छन् ।
यस्तै बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई पक्राउ गर्नुपर्ने माग गुरुङ लगायतले प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा गरेको समेत दाबी गरेका छन् ।
‘सुधन गुरुङ जस्ता मान्छेलाई यहाँ एम्बुस बनाएर पडकाउन खोजिदै छ, सुदनजी जस्ता मान्छेहरू बालेनजी जस्ता मान्छेहरूको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गुर्नपर्छ भनेर मिडिया ट्रायल गर्छन्, सोसल मिडियामा ट्रेन्ड चलाउँछन्,’ बस्नेतले भने, ‘अनि डेलीगेसनमा जान्छन्, प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा।’ उनले भदौ २३ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा सहयोग रहने बताउँदै अन्य घटनको पनि छानबिन माग गरे।


















