Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतका प्रधानन्यायाधीशमाथि अदालतभित्रै जुत्ता प्रहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २० गते


काठमाडौं । भारतको सर्वोच्च अदालतमा सोमबार बिहान एक ७१ वर्षीय अधिवक्ताले भारतीय प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता हाने प्रहार गरेका छन् । घटनापछि दिल्ली प्रहरीले सर्वोच्च अदालत पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

दिल्ली प्रहरीले दिएको जानकारी अनुसार, राकेश किशोर नामका वकिलले आक्रमण गरेका हुन् । उनले बिहान ११ः३५ बजे अदालत नम्बर १ मा चलिरहेको इजलासको क्रममा आफ्नो स्पोर्ट्स जुत्ता निकालेर प्रधानन्यायाधीश गवाईमाथि फ्याँकेका थिए ।

एक वरिष्ठ प्रहरी अधिकारीले भने, “सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए । उनलाई सर्वोच्च अदालतको सुरक्षा एकाइलाई बुझाइएको छ । उनी मयुर बिहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एसोसिएसनका दर्तावाल सदस्य हुन् ।”

प्रारम्भिक अनुसन्धानका क्रममा वकिल मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्धारको माग गर्दै दर्ता गरिएको निवेदनअन्तर्गत हालैको सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईले गरेको टिप्पणीबाट असन्तुष्ट रहेको खुलेको छ ।

प्रधानन्यायाधीश गवाई विचलित नभई शान्त देखिएका थिए । वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरेका थिए ।

अदालतबाट बाहिर निकालिँदै गर्दा ती व्यक्तिले सनातन धर्मको अपमान हिन्दुस्तानले सहने छैन भनेर नारा लगाएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

ती अधिकारीले थपे, “हाल दिल्ली प्रहरीले सर्वोच्च अदालतका रजिस्ट्रार जनरलसँग समन्वय गरिरहेको छ । र, कुनै कानुनी कारबाही अघि नयाँ दिल्ली जिल्लाले यस विषयको अनुसन्धान गरिरहेको छ ।”

प्रधानन्यायाधीश गवाईलाई दिल्ली प्रहरीको सुरक्षा विभागद्वारा प्रदान गरिएको ‘जेड प्लस’ सुरक्षा कवच रहेको छ ।

अदालतमा उपस्थित एक वकिलले द इन्डियन एक्सप्रेसलाई बताएअनुसार, वकिलको पोसाकमा रहेका एक व्यक्तिले प्रधानन्यायाधीश गवाईमाथि केही वस्तु फ्याँकेका थिए । पछि सुरक्षाकर्मीहरूले ती व्यक्तिले भारतका प्रधानन्यायाधीशमाथि जुत्ता हानेको पुष्टि गरेका थिए ।

वकिलले बाहिर निकालिँदै गर्दा ती व्यक्तिले केही नारा लगाएको पनि सुनेको बताए । घटना हुँदा प्रधानन्यायाधीश गवाई न्यायाधीश के। विनोद चन्द्रनसँगको दुई सदस्यीय इजलासको अध्यक्षता गर्दै थिए । उनले सेप्टेम्बर १६ मा खजुराहो मन्दिर परिसरको जावरी मन्दिरमा रहेको ७ फिट अग्लो जीर्ण भगवान् विष्णुको मूर्तिको पुनर्निर्माणको माग गरिएको निवेदन खारेज गर्दै टिप्पणी गरेका थिए ।

प्रधानन्यायाधीश गवाईले याचिकाकर्तालाई, “यो विशुद्धरूपमा प्रचारका लागि गरिएको मुद्दा हो । आफैँ गएर भगवान्‌लाई केही गर्न आग्रह गर्नुहोस् । यदि तपाईं भगवान विष्णुका प्रवल भक्त हुनुहुन्छ भने, प्रार्थना गर्नुहोस् र ध्यान गर्नुहोस् ।”

पछिल्लो समयमा प्रधानन्यायाधीश गवाईले भनेका थिए, “म सबै धर्महरूमा विश्वास गर्छु । म सबै धर्महरूको सम्मान गर्छु ।”

उनको टिप्पणी भारतीय पुरातत्व सर्वेक्षणको मर्मतसम्भार क्षेत्राधिकारको सन्दर्भमा गरिएको थियो । उनले आफू सबै धर्मको सम्मान गर्ने स्पष्ट गर्दै बताएका थिए ।


प्रतिकृया दिनुहोस्