
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू हुने भए पनि अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनको क्रममा उनले संख्या छ भन्दैमा जे पनि निर्णय गर्न नहुने बताए । ‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ । लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू गर्न पाइन्छ । हिजो पनि गरेका छौं, भोलि पनि गरौंला । तर, म सँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ महामन्त्री थापाले भने ।
पार्टी वा संसद् जहाँ पनि बहुमतका आधारमा निर्णय हुने भएपनि त्यो वैधानिक मात्रै नभएर वैध पनि हुन आवश्यक रहेको उनको भनाइ थियो ।
‘प्रत्येक निर्णय संख्याको आधारमा गरिने वैधानिक हुन्छ । पार्टीमा होला, संसद्मा होला जहाँ पनि होला,’ महामन्त्री थापाले भने, ‘तर, पार्टीमा निर्णय गरेपनि मैले गरेको निर्णय बहुमतको आधारमा छ भने पनि आम पार्टी सदस्यले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन । लोकतन्त्र चल्नका लागि वैधानिक मात्रै भएर हुँदैन वैध पनि हुनुपर्छ ।














