Skip

Hamro Sanchar

आफू अनुकूल संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्न उपसभामुख हटाउन खोजिएको छर्लङ्ग छ : नारायणकाजी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३ गते


काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति गर्न उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजिएको घाम जत्तिकै छर्लङ्ग भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका छन् ।

उपसभामुख रानामगरलाई पदबाट हटाउने प्रयोजनका लागि सत्तारुढ पार्टीहरू नेकपा ९एमाले ० र नेपाली कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएको घटनाले उनीहरूको निरङ्कुशता र दुराशयलाई नाङ्गो पारेको समेत उनले बताए ।

यसले लोकतन्त्रको धज्जी उडाएको बताउँदै उक्त कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग नजोडिएको समेत उल्लेख गरे ।

यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको र सङ्कटग्रस्त बनाइरहेको समेत उनले बताए । तात्कालिक निहित स्वार्थ भन्दामाथि उठेर यस प्रकारका गलत कार्यलाई असफल पार्न एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

आज मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० को आयोजनामा संसद्‌मा क्रियाशील प्रतिपक्षी पार्टीहरूको बैठक बसेको थियो ।


प्रतिकृया दिनुहोस्