Skip

Hamro Sanchar

टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको मृत्युु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २६ गते


काठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६।१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ ।

सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।

राष्ट्रपति रेचेप तैयप एर्दोआनले एक विज्ञप्ति जारी गर्दै मृतक परिवारमा समवेदना र भूकम्पबाट घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुनस्स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विपत्तिबाट जोगाउनून्,’ उनले ‘एक्स’मा लेखेका छन् ।

गृहमन्त्री अली येरलिकायाले हाल खोज तथा उद्धार कार्य सकिएको बताएका छन् । उनका अनुसार ठूलो क्षति वा मानवीय हानीको संकेत भेटिएको छैन ।

तर, भूकम्पको केन्द्रविन्दु सिन्डिर्गीका तस्वीरहरूमा ठूला भवनहरू पूर्णरूपमा ढलेका र फलामका बीमसहितको भग्नावशेष थुप्रिएको देखिन्छ ।

टर्की तीन ठूला टेक्टोनिक प्लेटको संगमस्थलमा रहेकोले यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्छ । सन् २०२३ फेब्रुअरीमा आएको ७।८ म्याग्निच्युडको भूकम्पले देशको दक्षिणपूर्वी क्षेत्र ध्वस्त हुँदा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । छिमेकी सिरियामा पनि ५ हजार जनाको ज्यान गएको थियो ।

सो भूकम्प आएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि लाखौं मानिस अझै विस्थापित अवस्थामा छन्


प्रतिकृया दिनुहोस्