
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन्। अहिले मुख्यमन्त्री रहेका लामाविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
प्रस्तावमा २१ जना सांसदहरूले हस्ताक्षर गरेका छन्। अविश्वासको प्रस्तावको नेतृत्वकर्ता भने कांग्रेस सांसद इन्द्र बानियाँ रहेका छन्। यद्यपि मुख्मन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताइसकेका छन्।
यता, नेकपा एमालेका बागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे कांग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए। उनले यो कांग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने र हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारे। प्रदेश सरकारमाथि प्रश्न उठिरहेको बेलामा प्रदेश सरकारलाई अझ अस्थिर बनाउनु नहुने एमालेको सुझाव रहेको बताए।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२र८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो। बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।


















