Skip

Hamro Sanchar

योगेश भन्छन् : भण्डारीकाे सदस्यता नवीकरण प्राविधिक विषय हो, पहिले राजनीतिक सहमति हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ४ गते


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेका बताएका छन् ।

ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

‘यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ । हाम्रो पार्टीभित्र उत्पन्न विषय कसरी हल गर्ने भन्ने मोडल पनि यसबाट निस्कनुपर्छ,’ भट्टराईले भने ।

पार्टी बैठकमा नेताहरूले राखेको सुझाव अनुसार नै आज भेटवार्ता भएको भट्टराईले बताए ।

‘पार्टीभित्र चलिरहेको एउटा बहस छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने र भूमिका खेल्ने भन्ने विषय सार्वजनिक रुपमा उहाँले राख्नुभएको छ । अधिकांश नेताहरूले पार्टी अध्यक्षसँग कुराकानी हुनुपर्छ,’ भट्टराईले अघि भने, ‘यो विषय आफ्ना आफ्ना कोणबाट अभिव्यक्ति दिने भन्दा पनि छलफल गरेर उपयुक्त कुराको निकास निकाल्नुपर्छ भनेर सबैले सुझाव दिनुभएको छ । सोही अनुसार भेटवार्ता भएको हो ।’

भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको जिकिर गरे ।

‘सदस्यताको विषय प्राविधिक कुरा हो । प्राविधिक कुरा टुंगिनु अघि राजनीतिक कुरा त्यसअघि टुंग्याउनुपर्छ,’ उनले भने, ‘प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक छैन । मुख्य कुरा भनेको राजनीतिक कुरा हो । त्यो टुंगिएपछि यो त भइहाल्छ।’


प्रतिकृया दिनुहोस्