Skip

Hamro Sanchar

ओली र ईश्वरबीच भनाभन : तपाईंको उद्देश्य मलाई हटाउने हो ? ईश्वरको जवाफ – हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २ गते


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र अध्यक्ष २ कार्यकाल मात्रै बन्न पाउने व्यवस्था हटाउने विषयमा तीव्र बहस भएको छ।

त्यस क्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भनाभन भएको छ।

बैठकमा सहभागी एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था एमालेको विधानबाट हटाउने विषयमा नेताहरू विभाजन भएका थिए।

वरिष्ठ उपाध्यक्ष पोखरेललगायत नेताहरूले यो नियम अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले राख्न जोड दिएका थिए भने अध्यक्ष ओली र महासचिव शंकर पोखरेललगायत नेताहरू हटाउनुपर्ने पक्षमा उभिए।

‘तर बहुमत हटाउनुपर्ने पक्षमा रहे पनि ७० वर्षे उमेर हद र अध्यक्षमा दुई कार्यकाल नीति हटाउने निर्णय भयो’, ती पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्ष पोखरेललगायत हामी अल्पमतमा पर्‍यौँ।’

यस क्रममा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच वादविवाद नै परेको उनले सुनाए।

‘तपाईंले ७० वर्षे हद र २ कार्यकाल नीति जारी राख्नुपर्नेमा जोड दिइरहनुभएको छ, त्यसो हुँदा म त सिधै हट्नपर्ने हुन्छ त१ तपाईंको उद्देश्य मलाई हटाउने नै हो त’, ओलीको प्रश्नमा पोखरेल जवाफ थिया’, अँ, हो।’

यसबीच वरिष्ठ उपाध्यक्ष पोखरेल आगामी महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको अध्यक्ष बनाउने पक्षमा रहेको कुरा पनि सार्वजनिक भइसकेको छ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो सुरु एमाले सचिवालय बैठक झन्डै १० घण्टापछि मध्यरात सकिएको थियो ।


प्रतिकृया दिनुहोस्