Skip

Hamro Sanchar

प्रचण्डको चेतावनी : सरकार भ्रष्टाचारमा लिप्त रहिरहे सडकबाटै प्रतिवाद गर्छौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारमा लिप्त रहिरहे सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’को औपचारिक उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए ।

सरकारको यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्ने अवस्था आउने उनको भनाइ छ । प्रचण्डले प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको बताए ।

सुशासनको विरुद्ध खडा भएको वर्तमान सरकार सम्पूर्णरूपमा देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको उनको भनाइ छ ।

प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे । वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रियरूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’को निरन्तरता भएको प्रचण्डले प्रष्ट पारे ।

उनले यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय भएको दाबी गरे ।

वाईसीएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्