Hamro Sanchar

कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा कागेश्वरी मनोहराको नयाँ प्रशासकीय भवन उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १८ गते


काठमाडौं, असार १८- कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ सुविधा सम्पन्न प्रशासकीय भवनको आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।

भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले भवनको उद्घाटन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले नगरको आफ्नै भवन निर्माण भएकाले सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गरे । अर्को प्रशंगमा उनले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताए । निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए ।

सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरूले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।

त्यस्तै उनले जनताका लागि काम गर्न आफूहरू राजनीतिमा आएको बताए । सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख उपेन्द्र कार्कीले आफुहरु निर्वाचन ताका गरिएका प्रतिबद्धता पुरा गर्न लागि परेको बताए । जनताका आधारभूत समस्याहरु शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । उनले भवन निर्माणको सुरुवात गर्ने पुर्व जनप्रतिनिधिहरुलाई धन्यवाद दिँदै भवनबाट जनताका कामलाई प्राथमिकतामा राखेर काम हुने बताए ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले नगरको नयाँ भवन निर्माण भएकोप्रति खुसी व्यक्त गर्नुका साथै नागरिकलाई सेवा प्रवाहमा सहज होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

भवनको शिलान्यास २०७७ साल पुस २४ गते शिलान्यास गरिएको हो ।

७ रोपनी जग्गामा कुल ८९ हजार ३०५ वर्गफिटको भवन ५१ करोड सत्तरी लाख रुपियाँमा निर्माण सम्पन्न भएको हो ।

बेसमेन्ट सहित ७ तल्लाको सो भवनको भुइँ तल्ला र पहिलो तल्ला व्यवसायिक प्रयोजनको लागि प्रयोग गरिएको छ ।

३२ वटा साना गाडी र ४५ वटा २ पांग्रे सवारी पार्किङ गर्न मिल्ने भवनको दुवै तल्ला १२ हजार ७९५ वर्गफिटका छन् । भवनको पाँचौ तल्लामा भने स्टेजसहितको १७० जना अट्ने सभाहल रहेको छ ।

अपांग मैत्री भवनको हरेक तल्लामा २ वटा भर्याङ, २ वटा लिफ्ट र आपतकालीन भर्याङ समेत रहेको छ । आगलागीको सूचना दिने “स्मोक डिटेक्टर” र अग्नि नियन्त्रण गर्ने सामाग्री पनि भवनमा छ । भवनको मोहोडा मल्लकालीन शैलीमा निर्माण भएको छ ।


प्रतिकृया दिनुहोस्