Skip

Hamro Sanchar

निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ : माओवादी

वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको जिकिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १८ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा भएको छेडखानीले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको बताएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्‍याइयो रु छानबिन हुनुपर्ने बताए ।

विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा एकाध व्यक्तिको मात्र दुस्साहस नभई सुनियोजित तरिकाले गरिएको धृष्टता भएको उनको जिकिर छ ।

उनले भने, ‘यसको जिम्मा नैतिक रूपमा संसदको नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।’

उनले भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्‍याइयो ? परस्पर विरोधी प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्न उठेका छन् । यस जालसाजीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ।’

यो गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न भएको भन्दै सार्वभौम संसदको आत्मामाथि सीधै प्रहार गरेको सापकोटाले बताए ।

उनले भने, ‘संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्‍याएको छ । सुशासनका लागि कोशेढुङ्गा सावित हुने जनताको अपेक्षाविपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाजीले संसदीय मूल्य-मान्यतालाई ठाडो चुनौतीसमेत दिएको छ ।

यस्तै माओवादी केन्द्रले वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको जिकिर गरेको छ । जनताको मनमस्तिष्कबाट पनि सरकार विस्थापित भइसकेको माओवादीको भनाइ छ ।

वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ।

प्रवक्ता सापकोटाले भने, ‘वर्तमान सरकार दिनदिन विस्थापित हुँदैछ, कलंकको रूपमा स्थापित हुँदैछ ।’ उनले सरकारले राजनीतिक प्रतिशोधको आधारमा विपक्षीलाई प्रहार गरेको र बिचौलियाको संरक्षण गरेको आरोप लगाए ।

 

 


प्रतिकृया दिनुहोस्