Skip

Hamro Sanchar

नेतृत्व महाधिवेशनले छान्छ, अहिले पार्टीको नीति र विधि बनाउन लागौं : शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १८ गते


काठमाडौं । नेकपा(एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनको तयारीका सन्दर्भमा प्रदेश र जिल्ला कमिटीहरूलाई असारमसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका छन्।

आज पार्टीका कोशी र मधेश प्रदेशमा पार्टीबाट तोकिएका इन्चार्जहरू, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई केन्द्रीय कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको विधान महाधिवेशन नीति र विधि निर्माणको महाधिवेशन भएकाले त्यस काममा केन्द्रित हुन आग्रह गरे।

पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरमा आयोजना गर्ने निर्णय भएको छ भने केन्द्रीय सचिवालयको बैठकले राजनीतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र संगठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव पोखरेललाई दिइएको छ।

महासचिव पोखरेलले विधान महाधिवेशनमा नीति र विधि निर्माणको काम हुने र राष्ट्रिय महाधिवेशनबाट नेतृत्वको टुंगो लाग्ने हुँदा यतिवेला नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने बताए।

पार्टीको राष्ट्रिय महाधिवेशनको मितिसमेत निर्धारण भई नसकेको अवस्थामा अहिलेदेखि नै नेतृत्वका सन्दर्भमा पक्षरविपक्षमा धार सिर्जना गर्ने प्रयास सञ्चार माध्यमहरूबाट हुन थालेको बताउँदै महासचिव पोखरेलले नीति र विधि निर्माणको काममा केन्द्रित हुन आग्रह गरे। उनले पार्टीलाई कमजोर बनाउने गरी सुरू भएका चर्चा र टिकाटिप्पणीप्रति कार्यकर्तालाई सचेत गराउन जिल्ला नेतृत्वलाई निर्देशन दिए।

यतिबेला पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन एकताबद्ध नेतृत्व निर्माण आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले नेतृत्वको विषय पनि पार्टीले एकताबद्ध प्रक्रियाबाट टुंगो लगाउने छ भने। अहिले राष्ट्रिय महाधिवेशन नभएको समयमा नेतृत्वका विषयमा चर्चा÷परिचर्चा आवश्यक नभएको उनले बताए।

जतिबेला जे काम गर्नुपर्ने हो त्यसैमा केन्द्रित हुनुपर्ने बताउँदै महासचिव पोखरेलले नवीकृत पार्टी सदस्यता असारमसान्तभित्र प्रमाणीकरण गर्नुपर्ने हुँदा सोही अनुसार केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिए। उनले संगठनात्मक प्रतिवेदनमा समावेश गर्नका लागि प्रदेश र जिल्ला कमिटीले पठाउनुपर्ने विषयहरूका बारेमा पनि जानकारी गराए ।


प्रतिकृया दिनुहोस्