
काठमाडौं । कतारले हवाईमार्ग खुला गरेको छ ।
इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो ।
त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरु त्यहीँ सुतेका थिए । कतिपय जहाजलाई डाइभर्ट गरिएको थियो ।
तर अहिले कतारको अवस्था सामान्य बन्दै गएको र आकाश मार्ग मंगलबार मध्यरातबाट पुनस् खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ ।
अमेरिकाले दुई दिनअघि इरानी आणविक केन्द्रमाथि गरेको आक्रमणको जवाफस्वरूप इरानले सोमबार साँझ स्थानीय समय अनुसार ७स्३० बजे दोहास्थित अमेरिकी सैन्यबेसमा कम्तीमा ६ वटा मिसाइल प्रक्षेपण गरेको थियो ।
तीमध्ये एउटा सैन्य अड्डाभित्रै खसेको र अरु सबैलाई निस्तेज पारिएको कतारको रक्षा मन्त्रालयअन्तर्गत संयुक्त कार्य सञ्चालन विभागका उपप्रमुख शायेक अल–हजरीले बताएका छन् ।
तर त्यसबाट कुनै मानवीय क्षति नभएको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारको गृह मन्त्रालयका प्रवक्ता जबर अल–नुआइमीका अनुसार मिसाइलका टुक्राले सानातिना आगलागी भए पनि त्यसलाई तुरुन्त नियन्त्रणमा लिइएको थियो ।
यसैबीच कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारको जनजीवन पुनस् सामान्य अवस्थामा फर्किंदै गएको बताएका छन् ।