Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिका-५ बालश्रम मुक्त वडा घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २९ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिन् ।

बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य वडालाई पनि घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै कार्य गर्दै आएको छ ।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ ।

नगर उप-प्रमुख थापाले बाल शोषण, श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग, सहकार्यबाट नै सभ्य समाज निर्माण हुने बताइन् ।

उनले सबै बालबालिकालाई विद्यालयसम्म लग्ने वातावरण तयार गरिने र शिक्षालाई अनिवार्य, निःशुल्क र सर्वसुलभ बनाउन सदैव तत्पर रहेको बताइन् ।

विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउन सफल भएको वडाअध्यक्ष शंकर पाण्डेले जानकारी दिए । बालबालिकाको सुन्दर भविष्य निर्माणमा घरपरिवारको प्रमुख भुमिका रहेता पनि वडाको पनि ठुलो जिम्मेवारी र दायित्व हुने भन्दै वडाध्यक्ष पाण्डेले बालबालिकाको क्षेत्रमा वडाले लगानी गरिरहेको बताए । बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सबिना श्रेष्ठकाअनुसार ४ हजार घरधुरी रहेको वडामा १२ हजार ८ सय ६० जनसंख्या रहेको छ । जसमा १ हजार ५ सय ६६ बालबालिका रहेका तथ्यांक छ । उक्त संख्या मध्ये ८ सय २६ जना बालक रहेका छन् भने ७ सय ५१ जना बालिका रहेका छन् ।

वडा सदस्य सुशान्त श्रेष्ठले संचालन गरेको कार्यक्रममा बालश्रम मुक्त वडा घोषणा गर्न सहयोग गर्ने संस्था, विद्यालय, सङ्घ संस्थालाई सम्मानपत्र प्रदान गरिएको छ ।


प्रतिकृया दिनुहोस्