
काठमाडौं, जेठ २- कागेश्वरी मनोहराको वडा नम्बर ५ थलीस्थित क्विन बचत तथा ऋण सहकारीमा नगरपालिकाले तालाबन्दी गरेको छ । बचतकर्ताको करोडौं रकम कुम्ल्याएर भाग्न लागेको सहकारीमा महानगरीय प्रहरी प्रभाग थलीको प्रहरी टोली, नगर प्रहरी, मिडियाकर्मी तथा पिडित बचतकर्ताहरुको उपस्थितिमा ताला लगाइएको हो ।
चावहिलमा मुख्य कार्यालय रहेको भनिएको सहकारीले २०७७ सालमा नगरपालिकाको सहकारी शाखाबाट अनुमति बिना कार्यालय संचालन गर्दै आइरहेको थियो ।
सहकारीमा एक हजार बढी बचतकर्ता रहेका छन् भने ती बचतकर्ताहरुबाट ४ करोड रकम उठाएको थियो । करोडौं रकम उठाएको सहकारीले लगानी भने १५ लाख मात्र गरेको देखिएको छ ।
यसअघि नै नगरपालिकाले माग गरेका विवरणहरु उपलब्ध नगराएको, संस्थाको कार्यालयमा सम्पर्क र ताकेता गर्दा कुनै पनि तत्परता नदेखाएको, संस्थासँग सम्पर्क स्थापित गर्न नसकिएको र कानुनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने भनि निर्दिष्ट गरेको कुनैपनि किसिमका विवरणहरु उपलब्ध नगराएको साथै बचतकर्ताहरुको लिखित उजुरी आएको भन्दै सम्पर्कमा आउन भनेको थियो ।
शाखामा दिनहुँ सयौं बचतकर्ताले उजुरी आउने गरेको शाखा प्रमुख विश्वास ज्ञवालीले जानकारी दिए । नगरपालिकाले बारम्बार बचतकर्ताको माग सम्बोधन गर्न र नगरपालिकामा उपस्थित हुन अनुरोध गर्दा क्विन बचत तथा ऋण सहकारीका संचालक समितिका अध्यक्ष हेमचन लामासहित संचालक समिति सम्पर्कमा आउन समेत नचाहेको शाखा प्रमुख ज्ञवालीको भनाई छ ।
हाल उक्त सहकारीले बचतकर्ताको एक लाख रुपियाँ सम्म फिर्ता गर्न सकेको अवस्था छैन । तर घर-घर पुगेर दैनिक बचत जम्मा गरिरहेको छ । कार्यालय छोडेर भाग्न लागेको सूचना प्राप्त गरेपछि शुक्रबार दिउँसो तालाबन्दी गरिएको हो । त्यहाँ पुग्दा उमेश बज्राचार्य नाम गरेका एक व्यक्ति मात्र कार्यालयमा रहेको भेटिएको थियो । उनले पनि भाग्न लागेको नभई मुख्य कार्यालयमा सामान लगेर त्यहींबाट सेवा दिन लागेको स्वीकार गरे ।
प्राप्त जानकारी अनुसार उक्त सहकारी न्युरोड शाखाबाट केहिदिन पहिले यसैगरी बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको थियो ।
सहकारी ऐन अनुसार संघ/संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरिक्षण र ६ महिनाभित्रमा वार्षिक साधारण सभासम्पन्न गरी साधारण सभाको निर्णय र पारित लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ । प्रदेश सहकारी नियमावली २०७६ को नियम १८ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र आफ्नो नियामक कार्यालयमा बुझाउनुपर्ने ब्यवस्था छ ।