
काठमाडौं, बैशाख २९- कागेश्वरी मनोहरा नगरपालिकामा जग्गा नाप जाँच सुरु भएको छ । वडा नम्बर-७ (साविक गोठाटार वडा नम्बर ५,६ र ७ तथा मूलपानी १,२ र ३) अन्तर्गतका हालसाविक हुन बाँकि भूभागको आजबाट पुन: नापजाँच सुरु भएको हो ।
उक्त कार्यको आज दिउँसो कागेश्वरी मनोहरा प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गरे ।
जग्गा नाप जाँचको लागि नापी कार्यालय चाबहिलका टोली प्रमुखसहितको टोलीले आएको छ । नाप जाँच नगरपालिकाको आर्थिक सहयोगमा हुने छ ।
नाप जाँच हुने समयावधिसम्म जग्गाधनी वा निजको प्रतिनिधि, जग्गा कमाउने मोही, साँध-सँधियारहरुले भोगचलन गरिरहेको निस्सासहित उपस्थित हुन भनिएको छ ।
लामो समयदेखि राजनीतिक मुद्दाको रूपमा मात्रै सीमित भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको प्रक्रियालाई समाधान गर्न कागेश्वरी मनोहराको वडा नम्बर ७ बाट जग्गा नापजाँच सुरु गरिएको नगरप्रमुख कार्कीले बताए ।
वडा नं. ७ बाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडाहरुमासमेत सुरु हुने उनले बताए । निर्वाचन पूर्व र पटकपटक स्थानीय समुदायसँग गरेको वाचा पुरा गर्ने चरणमा आफूहरू रहेको भन्दै उनले जग्गा नापजाँच कार्यमा आवश्यक सहजीकरण गर्न स्थानीयहरूलाई अनुरोध गरे । यस्तै प्रमुख कार्कीले मनोहरा करिडोरको काम कुनैपनि हालतमा सँगै अगाडी बढाउने गरि काम भैरहेको जानकारी दिए । मनोहरा खोलालाई ब्यबस्थित गर्न ढल ब्यबस्थापनलाई सहज बनाउन अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय भैरहेको जानकारी दिए ।
लामो समयदेखि सपनाको रूपमा रहेको जग्गा नापजाँचको काम सुरु भएकोमा स्थानीय खुसी छन् । सहभागी भएका स्थानीयहरूले स्थानीय स्तरमा देखिने समस्याहरूको समाधान गरेर जतिसक्दो चाँडो नापजाँचको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै उद्घाटन कार्यक्रममा वडाअध्यक्ष भीमसेन थापाले जग्गा नापजाँचले व्यक्तिको निजी घर, जग्गा, जमिनको सुनिश्चतता हुनुका साथै सार्वजनिक सम्पतिको संरक्षण, मुख्य, सहायक तथा गोरेटो बाटोको पहिचान र अभिलेख राख्नलगायत विविध कार्यमा महत्वपुर्ण भूमिका हुने बताए । उनले नापी कार्यालयसँग सहकार्य गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नापी शाखाका प्रमुख ज्यूलगायत नगरपालिका परिवारलाई धन्यवाद दिए ।
हालसाविक भनेको के हो ?
सामान्यतया: हालसाबिक भनेको नयाँ नापी भइसकेपछि पुरानो श्रेस्तालाई खारेज गरेर नयाँ नापी अनुसारको श्रेस्ता कायम गर्नु हो । श्रेस्ता भनेको सम्बन्धित मालपोत कार्यालयमा रहेको जग्गाको दर्ता प्रमाणको रेकर्ड (अभिलेख) हो । नयाँ श्रेस्ता कायम भइसकेपछि सम्बन्धित मालपोत कार्यालयमा गएर पुरानो श्रेस्ता खारेज गरी नयाँ श्रेस्तालाई अद्यावधिक गर्नुपर्छ ।
जग्गाधनीसँग लालपुर्जा हुन्छ भने सोही सम्पत्तिको अभिलेख मालपोत कार्यालयमा हुन्छ । यदि पुरानो नापी अनुसारको श्रेस्ता मालपोत कार्यालयमा रहेको छ भने हालसाबिक गरिसकेपछि त्यही अनुसारको नयाँ श्रेस्ता कायम गरी नयाँ लालपुर्जा लिनुपर्ने हुन्छ । पुरानो नापी भएको ठाउँमा मात्र हालसाबिक गर्नुपर्छ, नयाँ नापी भएको ठाउँमा हालसाबिक गरिरहनु जरुरी हुँदैन ।
कहिले-कहिले गर्नुपर्छ हालसाविक ?
नेपालमा नाप जाँच ऐन २०१९ बमोजिम वि.स २०२१ मा पहिलो पटक जग्गाहरूको नापी गर्ने कार्यको सुरुवात भएको हो । त्यतिबेला आवाद क्षेत्रको मात्रै जग्गा नाप जाँच गर्ने भन्ने म्यान्डेट नापी विभागलाई थियो । त्यो समयमा नाप जाँच गर्ने जनशक्ति, नाप जाँचको प्रविधि, यन्त्र-उपकरण, जनशक्तिको प्राविधिक ज्ञान पनि कम थियो ।
२०२१ मा हदबन्दी समेत तोकेर भूमिसम्बन्धी ऐन लागू भयो । कसको नाममा कति जग्गा छ भन्ने प्रारम्भिक तथ्यांक पनि थिएन । त्यतिखेर नाप जाँचको उद्देश्य पूर्ण नाप जाँच विवरण संकलन गर्नेभन्दा पनि जग्गाको तथ्यांक निकाल्नु रहेको नापी विभागका सूचना अधिकारी ढकाल बताउँछन् । त्यसयता धेरै भौतिक संरचनाहरू निर्माण भएका छन् । जग्गाको अपडेट डिटेल राख्नको लागि नयाँ नापी आवश्यक भएकोले हरेक २० वर्षमा नयाँ नापी गर्नुपर्ने व्यवस्था कानुनमा उल्लेख रहेको घिमिरे ल फर्मका सञ्चालक तथा कानून व्यवसायी अर्जुनप्रसाद घिमिरे बताउँछन् ।
कसरी गरिन्छ हालसाविक ?
खुला क्षेत्रमा समयसँगै घर, भवनहरू निर्माण हुने भएकोले कति जग्गा खाली छ भनेर पत्ता लगाउनको लागि पनि नयाँ नापीको आवश्यकता रहेको हो । खाली जग्गाको नाप नक्सा यकिन गरी त्यस अनुसारको श्रेस्ता तयार हुन्छ । त्यसलाई फिल्ड बुक भनिन्छ । नापीको महत्त्वपूर्ण कागजात मध्ये फिल्ड बुक पनि एउटा हो । सूचना अधिकारी ढकालका अनुसार हाम्रो कानूनले जग्गाको नाप जाँच गर्न फिल्डमा जाँदा जे छ जमिनको हालको अवस्था, जे-जे देखाइयो त्यो हुबहु टिपोट गरेर नक्सांकन गर्ने भन्ने प्रावधान राखेको छ, तर यसरी गरिएको नक्सांकन नै अन्तिम भन्ने हुँदैन ।
सम्बन्धित सरोकारवालाहरू जस्तै जग्गाधनी, सम्बन्धित वडाका प्रतिनिधि, साँध-सँधियार आदिको उपस्थितिमा कुनै निश्चित वडाको नयाँ नाप जाँच गरिसकेपछि सम्बन्धित नापी कार्यालयले हामीले यो-यो क्षेत्रमा नाप जाँच गर्दा यस्ता-यस्ता विवरण आएको छ, यो-यो कित्ता नम्बर कायम भयो, चार किल्लाको विवरण यस्तो आयो भनी जानकारी गराइ नयाँ नाप जाँचमा कसैको दाबी, गुनासो भए सम्पर्क गर्न ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्छ । यस समयमा सम्बन्धित नापी कार्यालयले नाप जाँचमा केही त्रुटि भए नभएको बुझ्न उपलब्ध प्रमाणहरू केलाउने काम गर्छ । यही ७ दिनभित्र जग्गाधनीहरू आएर कसैको दाबी, विरोध, गुनासो भए नियमानुसार रीतपूर्वक निवेदन दिन सक्छन् ।
यदि उक्त समयमा जग्गाका साँध-सँधियारबाट आफ्नो जग्गा समेत अर्काको जग्गाको नापमा परेको केही उजुरी, गुनासो नआए नाप जाँच ऐन २०१९ र नियमावली २०५८ मा व्यवस्था भएअनुसार नापी कार्यालयमा सोही नाप जाँच विवरण दर्ता गरिन्छ र मालपोतमा जग्गाको नयाँ श्रेस्ता कायम गरिन्छ ।