
काठमाडौं । राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो। उनलाई सुकेधाराबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
बस्नेतविरुद्ध प्रहरीले पहिल्यै पक्राउ अनुमति लिइसकेको थियो। पक्राउका लागि अदालतबाट अनुमति लिइसकेका अझै केही फरार रहेका र उनीहरु पनि खोजीको सूचीमा रहेका एसपी बोहराले बताए।
तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो। यस्तै सरकारी तथा निजी सम्पत्तिमा पनि तोडफोड र आगजनी भएको थियो।
उनीहरुलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ। अहिले ५३ जना हिरासतमा भए पनि हाजिरी जमानीमा रिहा भएकालाई पनि मुद्दा चलाउने प्रहरीले जनाएको छ।

















