Skip

Hamro Sanchar

ट्रान्समिटर नबन्दा ४८० घर तीन महिनादेखि अन्धकारमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २५ गते


जुम्ला । गुठीचौर गाउँपालिका- १ का ४८० घर तीन महिनादेखि बिजुलीको उपभोग गर्न पाएका भएका छन्।

यो वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए।

गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ।

बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए।

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकेको बताए।

गुठीचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले तीन लाख रुपैयाँ विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गर्ने बताए।

अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्