Hamro Sanchar

युवा संघ पर्वतको भेलामा झडप, केन्द्रीय सदस्य पौडेलको टाउकोमा गम्भीर चोट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २४ गते


पोखरा । राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ ।

जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।

झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहितका नेता घाइते भएका छन् । पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

एक पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको अर्को पक्षको दाबी छ । युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए । तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप हुँदा पौडेल घाइते भएका हुन् । एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले आफुलाई आक्रमण हुँदा असमझदारी भएको दाबी गरे ।

केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पर्वत भण्डारीले अधिवेशन नभइ विस्तारित भेला भएको बताए । ‘अधिवेशन होइन, विस्तारित भेला हो । केही साथीहरुको सामान्य असमझदारी सिर्जना भएपछि आयोजक कमिटि बनाऔं भनेर भेला बेलाएका हौं,’ उनले भने, ‘केही भएको छैन । साथीहरुको सामान्य असमझदारी भएको हो ।’

चैत १५ भित्र अधिवेशन गर्न नसकेको शाखाहरुमा जिल्ला अध्यक्ष स्वत संयोजक हुने र अधिवेशन गर्ने गरी केन्द्रबाटै निर्णय भएको भण्डारीले दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्