
काठमाडौं, बैशाख १४- नेपाल शिक्षक महासंघको आह्वान जारी शिक्षक आन्दोलन थप चर्किने भएको छ । बैशाख १४ गते बानेश्वरमा शिक्षक आन्दोलनमाथि प्रहरीले दमन गरेपछि आक्रोसित बनेको नेपाल शिक्षक महासंघ र शिक्षक कर्मचारीले १५ गतेको आन्दोलन थप चर्काउने भएका हुन ।
प्रहरी दमन पश्चात महासंघको आकस्मिक बैठकले बैशाख १५ गते अर्थात भोलि देखि देशाभारका शिक्षक कर्मचारीलाई काठमाडौं केन्द्रित सडक आन्दोलनमा अनिवार्य उपस्थितिको परिपत्र गरेको छ । महासंघको विज्ञप्तिमा भनिएको छ, ” शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई दबाउन प्रहरी दमनको नीति लिएको छ, शान्तिपुर्ण आन्दोलनमा सहभागी हुदा प्रहरी दमनमा परी घाईते हुनु भएका सम्पूर्ण शिक्षक, कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।”
महासंघले भनेको छ, “आन्दोलनलाई थप दमन गर्ने नीति सरकारले बनाईरहदा भोलि २७ औ दिनदेखिको आन्दोलन थप पेचिलो बन्ने निश्चित छ । यस्तो अवस्थामा देशभरका शिक्षक, कर्मचारीहरुलाई काठमाडौंमा जारी शिक्षक कर्मचारीहरुको गत चैत २० गते देखिको सडक आन्दोलनमा अनिवार्य उपस्थितिको लागी अनुरोध गर्दछौ ।”
महासंघको आज बसेको आकस्मिक बैठकले वैशाख १४ गते बानेश्वरमा प्रहरीले गरेको दमनको बिरोधमा बैशाख १५ गते देखि प्रत्येक पालिकामा ११ बजे देखि २ बजे सम्म महासंघको ब्यानर सहित नारा जुलुस गर्ने, कोण सभा गर्ने र पालिका भित्र रहेका सम्पूर्ण शिक्षक कर्मचारीहरुको हाजिरी गर्ने निर्णय गरेको छ ।
अन्त्यमा महासंघले भनेको छ, ” आज भएको प्रहरी दमनको घोर भत्सना गर्दै महासंघसंग वार्ता र संवादको वातावरण तयार गरी हामीले उठाएका माग र मुद्दालाई यथाशक्य चाडो सम्बोधन गर्न नेपाल सरकारलाई विनम्रता पूर्वक यस प्रेस विज्ञप्तिमार्फत अनुरोध पनि गर्दछौ ।


















