
काठमाडौं, चैत ३१- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ को अमरसिंह चोकमा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक राखिने भएको छ ।
नेपाल सरकारबाट हस्तान्तरित कार्यक्रम (शसर्त अनुदान) सम्पदा पूर्वाधार अन्तर्गत पूर्वाधार निर्माणका लागि विनियोजित रकमबाट निर्माण हुन लागेको पूर्णकदको शालिकसहित हरित उद्यानको नगरप्रमुख उपेन्द्र कार्कीले आइतबार बिहान एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।
अमरसिंह चोकमा अवस्थित सार्वजनिक जग्गामा निर्माण हुन लागेको शालिक आगामी जनै पुर्णिमाको अवसरमा शालिक अनावरण गरिने नगरप्रमुख कार्कीले बताए ।
शालिक निर्माणका लागि नेपाल सरकारबाट २० लाख प्राप्त भएको छ । तर उक्त रकमबाट शालिक निर्माण सम्पन्न नहुने भएकाले नगरपालिकाले बजेट उपलब्ध गराएर आगामी जनै पुर्णिमाको अवसरमा शालिक अनावरण गरिने नगरप्रमुख कार्कीको भनाई छ ।
अमरसिंह थापा नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन् । उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए ।
उनको जन्म विसं १८०८ मा जनै पूर्णिमाको दिन बाघ भीम सिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो । बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि मारवाट अनुसार उनले पिताको स्थान लिए । उनी रणजय (रन्जै) थापाका नाति हुन् भनी बालकृष्ण समको कृति अमरसिंहमा समेत लेखिएको छ ।
उनको निधन बि.सं. १८१६ मा भएको थियो ।