
रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले एमाले र कांग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोग सरेकोले अब त्यो गल्ती जनतासँग माफी मागेर मैदानमा आएको बताएका छन् ।
आज बुटवलमा मगर मुक्तिमोर्चाको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब त्यो गल्ती नदोहोराउने र विगतमा मजदुर किसानसँग केही सम्बन्ध कमजोर भएकोले अब त्यसलाई सुधारेर जाने तर हिंसात्मक होइन शान्तिपूर्ण अभियान चलाउने जनाए ।
‘सदन र सडकबाट भण्डाफोर अभियानमा छौं, तर रौतहटमा आउँदा सरकारको गलत कृयाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौं गएर विरोध गरेका छौं’ उनले भने,’अहिलेको सबै अधिकारको जननी माओवादी हो, त्यसका रक्षा गर्ने जिम्मेवारी पनि हो, धमिलो पानीमा माछा मार्ने चलखेल सफल हुँदैन, दलालको इशारामा सरकारले जनतालाई सताउन दिँदैनौ ।’ उनले सरकारविरूद्ध कडा आलोचना गरे ।
‘हामीले नेतृत्व गरेको सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको थियो, देशव्यापी सकारात्मक काम भएको थियो, भारत, चीन युरोपसँग कुटनैतिक मर्यादा बनाएको थियो, सबैलाई सम्झना होला,’उनले भने,’अन्तर्राष्ट्रिय मन्चमा हामी अब्बल थियौ, हाम्रो धारणाले प्रशंसा पाएको थियो तर त्यो आन्दोलनको धेरैलाई मन परेको थिएन, संविधान मिचेर षड्यन्त्रमूलक तरिकाले सरकारबाट बाहिर फालिएको हो, मैले अन्तिमपटक सदनमा पनि भनेको थिएँ त्यो व्यवहारविरूद्ध झापड दिने बताएको थिएँ अहिले तराईमा त्यो अभियान चलाएका छौं ।
उनले सरकारका गलत कामको खबरदारी गरिरहने बताए ।‘कुलमान मैले नियुक्ति गरेको हो,उनकै कारणले देश उज्यालो भएको हो। परिवर्तन उल्टाउने र गलत गर्ने कसैलाई छुट दिँदैनौ ।’
उनले उत्पीडित समुदायको मोर्चाबाटै पार्टीले गरेको जनयुद्ध सफल भएको बताएका छन् । उनले यो समुदायको उच्च सम्मान भएको बताए ।
‘सबै जात र क्षेत्रमा मोर्चा बनेका थिए । सबै वर्ग,जाति समुदायको बलिदानबाट अहिलेका अधिकार आएका हुन्, प्रतिक्रियावादीको जतिसुकै अत्याचारविरूद्व गोलबन्द एकता जातीय मोर्चाले गरेको हो’उनले भने,’उत्पीडित जातिका मोर्चाले नै दुस्मनका सबै योजना असफल भएको हो’
उनले अहिलेका अधिकारविरूद्व जुनसुकै बेला सडकमा आउन तयारीमा रहन अनुरोध गरेका छन् ।