
काठमाडौं । नेपाली कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर(९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएका थिए ।
त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका हुन् ।
यस सम्बन्धमा उजुरीका बाबजुत स्थनीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरको भनेर उनीहरूले सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यसपछि कांग्रेसकी सचेतक सुशीला थिङ, सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईं लगायतले आपत्ति जनाएका हुन् ।
तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको आभिव्यक्ति हटाउन माग गरेका छन् ।
सभामुख घिमिरेले संसद्मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यो विषय तथ्यमा छ वा छैन भन्ने विषयमा स्वयम सांसद जिम्मेवार हुने बताए ।
कुरा उठाउने बित्तिकै हटाउने नभएर तथ्य नरहेको थाहा लागेपछि हटाउन सकिने उनले बताए । त्यसपछि कांग्रेस सांसदहरू बसे । बैठक अगाडि बढ्यो ।