Hamro Sanchar

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १० गते


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए ।

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’ उनले भने ।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए ।

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याए ।

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ । राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्