
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।
शुक्रबारबाट ललितपुरमा सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको शुभारम्भ गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो विचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।
कहिले एमाले र केहीले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै अध्यक्ष नेपालले तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको धारणा राखे ।
वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुईदलीय शासनको सोचलाई अगाडि बढाउन खोजेको उनको आरोप छ । सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनले बताए । समाजवादको पक्षमा रहेका शक्तिहरूलाई एकताबद्ध गर्नका लागि पहलकदमी लिइरहेको उनले बताए ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन् । निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत विषय आचारसंहितामा समेटिएको छ ।