
काठमाडौं । नेकपा एमालेका सांसद वसन्त नेम्वाङ संसद् जान थालेका छन् । एक वर्षदेखि उनी बिरामी भएका कारण संसदीय गतिविधिमा सक्रिय हुन सकिरहेका थिएनन् ।
छोरा प्रभात नेम्वाङका अनुसार उनी प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशनबाट नेम्वाङ संसद् जान थालेका हुन् । हिउँदे अधिवेशन गत १८ माघदेखि सुरु भएको हो ।
वसन्त नेम्वाङ गत वर्ष १७ माघदेखि बिरामी थिए । ताप्लेजुङमा आयोजित नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका बेला एक्कासि बिरामी परेपछि उनी उपचाररत थिए ।
उनको उपचार अहिले पनि चलिरहेको छ । नियमित अस्पताल रहनु पर्ने अवस्थाबाट मुक्त भएपछि नेम्वाङ संसदीय गतिविधिमा सरिक हुन थालेका हुन् ।
पछिल्लो समय नेम्वाङको भारतको बेंग्लोरस्थित नेसनल इन्सिच्युड अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्समा उपचार भएको थियो ।
ताप्लेजुङमा एक्कासि बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर सुरुमा मेडिसिटी अस्पताल भर्ना गरेर त्यहीँ उपचार गराइएको थियो । मेडिसिटी अस्पतालमा करिब एक महिना उपचार गराएपछि घर फर्केका उनी फेरि समस्या आएपछि बेंग्लोर गएका हुन् ।
चिकित्सकका अनुसार नेम्वाङको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखिएको थियो । यसलाई चिकित्सकले ‘ब्रेन स्ट्रोक’ भनेका थिए । ‘ब्रेन स्ट्रोक’ पुष्टि भएपछि उनी गत एक वर्षदेखि उपचारत थिए ।
एक वर्षसम्मको उपचारपछि नेम्वाङ संसदीय गतिविधिमै संलग्न हुन सक्ने भएका हुन् ।