Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चितुवाको आक्रमणबाट २ वर्षीय बालकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ४ गते


Advertisement

काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ।

शनिबार बेलुकी ७ बजे बर्दियाको मधुवन नगरपालिका-९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार आगनमा खेलिरहेका बालकलाई चितुवाले टिपेर लगेको थियो।

बाहिर छोरा नदेखेपछि रिहानका आमा रचनाले हार गुहार गरेकी थिइन्। गाउँलेहरू मिलेर यताउता खोज्दा नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो।

प्रहरीसहितको टोलीले खोजी गर्दा राति सवा ९ बजे घरबाट झन्डै ५ सय मिटर पर बालकको शव भेटिएको डिएसपी घर्तिमगरले जानकारी दिए।

रचना शनिबार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन्। रचनाको घर भने बाँकेको राप्तिसोनारी गाउँपालिका-५ हो।

शनिबार बेलुकी उनीहरू घरभित्र हुँदा छोरा आगनमा खेलिरहेका थिए। मृत भेटिएको उनको घाँटी र टाउको पछाडिको भागमा चोट लागेको छ। घाउखतको विश्लेषण गर्दा चितुवाले आक्रमण गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको हो।

राति सवा ११ बजेपछि मुचुल्का तयार पारी बालकको शव पोष्टमर्टका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको डिएसपी मगरले जानकारी दिएका छन् ।

आइतबार पोष्टमर्टमपछि शव आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ  ।


प्रतिकृया दिनुहोस्