Hamro Sanchar

कागेश्वरी मनोहरालाई सिताके च्याउ हव बनाउने लक्ष्य, खेति सम्बन्धी ४ दिने तालिम शुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ८ गते


काठमाडौं, माघ ८- कागेश्वरी मनोहरा नगरपालिकालाई सिताके च्याउ हव बनाउने लक्ष्यसहित च्याउ उत्पादन तथा प्रवर्धन सम्बन्धि ४ दिने तालिम शुरु भएको छ । मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत सिताके एग्रोटेक प्रा.लि.को आयोजना तथा नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाको संयोजनमा तालिम शुरु भएको हो ।

तालिममा नगरपालिकाभित्र संचालित पाँच वटा कृषि सहकारीका ६० जनाभन्दा बढी महिला तथा पुरुषको उपस्थिति रहेको थियो । मंगलबार(आज)बाट शुरु भएको तालिम ४ दिनसम्म चल्नेछ । तालिममा सिताके च्याउ बिशेषज्ञ तथा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका डाक्टर बशिष्ट आचार्यले प्रशिक्षण दिएका थिए ।

आचार्यले सिताके च्याउ खेतीका लागि चाहिने आवश्यक सामग्री, बिउ रोप्ने तरिका, उत्पादन, सिताके च्याउको महत्व, रोगको व्यवस्थापन लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

बुधबार र बिहिबार सिताके एग्रोटेक प्रा.लि. सिंखडागाउँमा ब्यबहारिक तालिम प्रदान गरिनेछ भने शुक्रबार भक्तपुर सल्लाघारीको सिताके च्याउ ब्यबसायिक फार्म र निकोसराको बिउ उत्पादन केन्द्रमा अध्ययन तथा अवलोकन भ्रमणको कार्यक्रम राखिएको सहकारी तथा उद्यम विकास शाखा प्रमुख बिश्वास ज्ञावालीले जानकारी दिए । तालिमले रोजगारीसँगै सीप विकास र स्थानीयको आर्थिक क्षमताविकासमा टेवा पुग्ने शाखा प्रमुख ज्ञावालीले बताए ।

तालिममा सिताके एग्रोटेक प्रा.लि.का अध्यक्ष दिपक खड्काले सहभागीहरुलाई सिप तथा ज्ञान हस्तान्त्रण गर्ने बताए ।

सिताके च्याउ हव बनाउने लक्ष्य राखेको नगरपालिकाले योजना बनाएर कार्यक्रमहरु अघि सार्ने र किसानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ ।

सिताके च्याउ हामीले खाने च्याउमध्ये एक स्वस्थ्यकर च्याउ हो । यो‌ च्याउलाई ‌जापानी भाषामा ‘सिताके’ र नेपाली भाषामा ‘मृमे’ च्याउ भनिन्छ । यसको वैज्ञानिक नाम ‘लेन्टिनुला एडोडिसू हो । यसको रङ्ग कलेजी खैरो र कतै कतै थोप्लाहरु र मृगको बाहिरी रङ्ग सँग मिल्दो जुल्दो देखिन्छ ।

सिताके च्याउको खेती विशेषगरी उत्तिस, कटुस, ओखर, खरी, लाकुरी, आदि जस्ता रुखहरुको काठमा लगाउने गरिन्छ । यसको खेती समुन्द्र सतहबाट ११०० मिटर माथिका ठाउँहरूमा र १०–२५ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा गर्न सकिन्छ ।

सिताके च्याउ खेतीका लागि चाहिने आवश्यक सामग्री–

१. काठको मुडाः मुडा छनोट गर्दा उत्तिस, कटुस, ओखर, खरी, लाकुरी आदि जस्ता रुखहरुको काठको मुडाहरु‌ उपयोग मानिन्छ ‌।
२. काठमा प्वाल पार्ने ड्रिल मेसिन ।
३. मैन र मैन पगाल्ने भाँडो ।
४. टुप्पोमा कपडाले बेरेको सिन्को ।
५. सिताके च्याउको बिउ (आवश्यकता अनुसार) ।
६. कपास र स्प्रिट ।

मुडाको तयारी–

सिताके च्याउ खेतीको लागि ४ देखि २० बर्षको रोग नलागेको, एकै आकार भएको र चोट नलागेको मुडाहरु हुनु पर्दछ ।

मुडाहरु‌ १ मिटर लामो र ४०–५० प्रतिशत चिस्यान भएको हुन पर्दछ । मुडाहरु कार्तिकदेखि माघ महिनातिर काटेर २० देखि ३० दिनसम्म घाम नपर्ने ओभानो ठाउँमा राख्नु पर्दछ ।

मुडामा प्वाल पर्ने तरिका–

१.५ सेमी गोलाइ भएको र २.५ सेमी वा १ इन्च गहिरो गरी काठको मुडामा ड्रिल मेसिनको‌ सहायताले प्वाल बनाउनु पर्दछ । मुडाको दुवै छेउँ ५.५ सेमी छोडेर १० सेमीको‌‌ प्वाल बनाउनु पर्दछ । एक अर्को प्वालको लाइनबीचको दूरी ५ सेमी जति हुनु पर्दछ । ठूलो मुडामा ३.४ लाइन बनाउन सकिन्छ भने साना मुडामा १–२ लाइन मात्र बनाउन सकिन्छ ।

बिउ रोप्ने तरिका–

बिउ रोप्नु भन्दा अगाडि आफ्नो हातलाई मज्जाले स्प्रिट लगाएर राम्रोसँग सफा गर्नुपर्दछ । बिउलाई सफा सुइरोको मद्दतले ट्रेमा राख्नु पर्दछ । त्यसपछि मुडाको प्वालमा बिस्तारै बिउलाई कोचेर मैन राख्ने ठाउँ थोरै छाडेर प्वाल भर्नु पर्दछ र पातलो गरी प्वाल टाल्नु पर्दछ ।

बेडलगको व्यवस्थापन–

बिउ राखेपछि काठको मुडाहरु‌ राखिने कोठा वा छाप्रोको सापेक्षित आद्रता ७०–८० प्रतिशत र तापक्रम १५–२५ डिग्री सेन्टिग्रेड हुनुपर्दछ । बेडलगलाई एकदेखि डेढ मिटर अग्लो हुनेगरी एकमाथि अर्को राखेर चाङ्ग लगाइ एकदेखि डेढ महिनासम्म राख्नु पर्दछ । सापेक्षित आद्रता कायम राख्न दिनमा एक पटक पानी लगाउनु पर्दछ र सिधा घाम नपर्ने ठाउँमा राख्नु पर्दछ ।

चाङ्ग लगाएको १ देखि २ महिनापछि एकदेखि डेढ मिटर अग्लो हुने गरी एकमाथि अर्को कैँची तरिकाले छाप्रोभित्र चाङ्ग लगाएर राख्नु पर्दछ ‌। यसरी राख्दा बेडलगले माटो छुनुहुँदैन र यसलाई दिनमा ३–४ पटक पानी लगाउनु पर्दछ ‌। यसरी राखिएको एकदेखि डेड महिना पश्चात् दिनको ६ पटकसम्म तलको माथि र माथिको तल पर्ने गरि पल्टाउन पर्दछ ।

बेडलग ६–७ महिनापछि चाङ्गबाट झिकेर बाँस वा काठको स्टेन्डमा ७५ सेमी अग्लो हुने गरि १० सेमीको को फरकमा ठड्याएर राख्नु पर्दछ । यसरी राख्दा पनि बेडलगले माटोमा छुनु हुँदैन ‌। छाप्रो भित्रको सापेक्षित आद्रता ७०–८० प्रतिशत, तापक्रम १५–२५ डिग्री र बेडलगको चिस्यान ५५–६५ प्रतिशत कायम राख्नु पर्दछ ।

बिउ राखेको ८ महिनापछि सिताके च्याउ उत्पादन शुरु हुन्छ । उत्तिसको काठमा ३–३.५ बर्ष सम्म र कटुसको काठमा ६ बर्ष सम्म उत्पादन लिन सकिन्छ ।

च्याउ टिप्ने तरिका–

च्याउलाई घडीको दिशा अनुसार वा दिशा विपरित बटारेर वा चक्कुले डाँठ र मुडाको सतहमा काटेर टिप्न सकिन्छ ।

उत्पादन

काटेको मुडाको तौलको आधारमा १५–१७ प्रतिशत च्याउ उत्पादन हुन्छ अर्थात् १० केजी मुडाबाट १.५–१.७ केजी च्याउ उत्पादन हुन्छ ।

सिताके च्याउको महत्व–

नेपाली बजारमा सिताके च्याउको मुल्य रु ८०० देखि १२०० प्रति केजीसम्म पर्दछ । साथै यो च्याउ प्रयोग क्यान्सर, मधुमेह, सुगर, कोलेस्ट्रोल र उच्च रक्तचाप भएका मानिसहरूको लागि फाइदाजनक हुन्छ।

च्याउमा लाग्ने रोग र किराहरु–

सिताके च्याउमा पनि अन्य बालीमा झैं रोग र किराहरु लाग्दछ ।‌ कुनै रोगले मल जल र ठाउँका लागि प्रतिस्पर्धा गर्दछन् भने अन्य रोगले च्याउलाई नै आक्रमण गर्दछ । नेपालमा यस च्याउमा देखा परेका प्रमुख रोग निलो र हरियो ढुसी देखिएको छ ‌।

योरोग सँगै सुलसुले वा माइट्स किरा पनि देखा परेको हुन्छ ‌। सुलसुले र हरियो ढुसीको गहिरो सम्बन्ध रहेको छ । सुलसुलेले हरियो ढुसी लाइ एक ठाउँ बाट अर्को ठाउँमा सार्दछ । च्याउ कोठाको सापेक्षित आद्रता धेरै भएर वा तापक्रम नमिलेर वा चिस्यान नमिलेमा यो रोग चाँडै फैलन्छ ।

रोगको व्यवस्थापन–

च्याउ घरको सरसफाइमा राम्रो ध्यान दिन जरुरी हुन्छ । कोठाको तापक्रम २०–२५ डिग्री कायम गर्न पर्दछ ‌।
हरियो ढुसीको व्यवस्थापनको लागि बेभिष्टिन वा डेरोसाल ०.१ प्रतिशत विषादीको झोल बनाएर छर्नु पर्दछ । सुलसुलेको लागि ०.१ प्रतिशत नुभान छर्नु पर्दछ ।


प्रतिकृया दिनुहोस्