Skip

Hamro Sanchar

भारतिय पत्रीकामा रविको लेख : सीमा विवाद नलम्ब्याऔ, प्रमाणका आधारमा समाधान गरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १९ गते


Advertisement

१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई भू-राजनीतिक विवादभन्दा पर लगेर र ‘विकास कूटनीति’मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा आज लेख प्रकाशित गर्दै लामिछानेले नेपाल–भारत सम्बन्धमा सीमा विवादजस्ता विषयलाई लम्ब्याउन नहुने र ऐतिहासिक तथ्य, प्रमाण, आपसी समझदारीका आधारमा समाधान गर्नुपर्ने बताएका हुन्।

पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार नयाँदिल्ली गएका लामिछानेले अतिराष्ट्रवादी भाषणको आलोचना गर्दै ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत विवाद समाधान गर्नुपर्ने बताएका छन्। नेपालको बदलिँदो राजनीतिक परिदृश्य र भारतसँगको सहकार्यका नयाँ सम्भावनाहरूबारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै लामिछानेले ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

लेखमा कूटनीतिक नियोगहरूलाई राजनीतिक सम्पर्क केन्द्रभन्दा लगानी, व्यापार र आर्थिक सहकार्यको ‘इन्जिन’ का रूपमा रूपान्तरण गर्नुपर्ने उनको भनाई छ। लामिछानेले अब भारतसँगको सम्बन्धलाई पनि आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने विचार व्यक्त गरेका छन्।

लामिछानेले नेपाल–भारत सम्बन्धमा सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई अघि सारेका छन्। ‘जब हामी सीमापार हेर्छौँ, हामीले आफूलाई आमूल परिवर्तन गरेको भारत देख्छौँ। विगतका दशकहरूमा पुराना प्रशासनिक बन्धनहरूबाट मुक्त हुँदै भारत विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्रमध्ये एक बन्न सफल भएको छ। यो उपलब्धिलाई हामी सम्मान गर्छौं, र त्यसैले विकासका साझेदार बन्न चाहन्छौँ।’ लेखमार्फत लामिछानेले भनेका छन्, ‘भारत प्रतिदिन झण्डै १५ किलोमिटर रेलमार्ग निर्माण गर्दै विश्वकै अग्रणी रेल विस्तारकर्तामध्ये एक बन्ने दिशामा अघि बढिरहेको बेला प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग १५० किलोमिटरभन्दा पनि छोटो छ। जुन दिन ती १५० किलोमिटर रेलमार्ग जोडिनेछ, त्यसले व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ। नेपाल केवल सीमा जोड्न चाहँदैनस यी रेलमार्गले सम्पूर्ण अर्थतन्त्रलाई गति दिऊन् भन्ने चाहन्छ।’

लामिछानेले दुई देशको साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन्। ‘नेपाल र भारत केवल दुई देश मात्र होइनन्स हामी एउटा गौरवशाली र प्राचीन सभ्यताका साझेदार हौँ। जनकपुर र अयोध्या जोडिएपछि मात्र रामको कथा पूर्ण हुन्छ। पशुपतिनाथ र केदारनाथको सम्बन्धले मात्र आस्थाले पूर्णता पाउँछ। लुम्बिनी र बोधगया जोडिएपछि मात्र महान् सभ्यताको आधारभूमि साकार हुन्छ।’

लामिछानेले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा सिधा उडान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए। लामिछानेले भारतसँग ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सारेका छन्। उनले नेपाल–भारत सहकार्यको सम्भावित क्षेत्र खेलकुद पनि भएको बताएका छन्।

लेखमा लामिछानेले पुरानो राजनीतिक संरचनालाई चुनौती दिँदै युवापुस्तालाई परिणाममुखी राजनीतिमा सहभागी गराएको उल्लेख गरेका छन्। लामिछानेले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ब्यालेट बक्स क्रान्तिको संज्ञा दिएका छन्। उनले रास्वपाको उदयले नेपालमा सुशासन र जनताप्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएको बताए। उनले आजको नेपाल अनिश्चित गन्तव्यतर्फ होइन, समृद्ध र जीवन्त लोकतन्त्रको महत्वाकांक्षी यात्रातर्फ अघि बढिरहेको जानकारी गराएका छन्


प्रतिकृया दिनुहोस्